Logo

नेपाल बैंकका नवनियुक्त अध्यक्ष ज्ञवालीले लिए शपथ

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बैंक सञ्चालक समितिको २३ साउनको बैठकबाट अध्यक्ष पदमा नियुक्त ज्ञवालीले बुधबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । साथै पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए ।
नवनियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । उनले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी गराए ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक सञ्चालक समितिका सदस्यहरु डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा. तथा बैंकका कम्पनी सचिव समेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्