ग्लोबल आइएमई बैंकको अनलाइन भिडियोमार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।
बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्नलगायत केवाईसी फारम भर्न बैंकमा पुग्नुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।
यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहक, विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाइसी सेवा मार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्ने बताइएको छ ।
मुलुकभर २८९ शाखा रहेको बैंकले २७० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्र रहेका छन् ।