उल्लासपूर्ण कागेश्वरी मनोहरा महोत्सव «

उल्लासपूर्ण कागेश्वरी मनोहरा महोत्सव

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा रहेको लब डाँडाको नामले परिचित ठाउँमा प्रथम कागेश्वरी मनोहरा महोत्सवको आयोजना भइरहेको छ । आयोजक आर्य इन्टरटेनमेन्ट र दर्शना मिडिया हाउसको सहकार्य तथा स्थानीयको सहभागितामा महोत्सव भइरहेको छ । महोत्सव साउन १७ गतेबाट सुरु भएर भदौ ४ गतेसम्म चल्ने आयोजकद्वय कपिल कार्की र विकास गिरीले बताउनुभयो । कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक ठाउँहरूको प्रवद्र्धन, स्थानीय उत्पादन, कृषिजन्य वस्तुहरू तथा मौलिकताको जगेर्ना गर्नु र एकआपसमा भाइचारा सम्बन्ध कायम गर्नु महोत्सवको मूल उद्देश्य रहेको छ । धेरै अवलोकनकर्ताहरू महोत्सवमा उत्तिकै उत्साहजनक रूपमा सहभागी भएको र सोचेभन्दा बढी रमाइलो भएको अवलोकनकर्ताहरू बताउँछन् ।
कागेश्वरी मनोहरा महोत्सवमा आयोजक टिमले महोत्सवको मेला भर्न आउने मानिसहरूलाई सहजै महोत्सवको वातावरण मिलाएको थियो । सुरक्षाको राम्रो प्रबन्ध थियो, स्वयम्सेवकहरूले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका देखिन्थे भने सुरक्षा गार्डहरूले पनि राम्रो व्यवस्थापन गरिरहेका थिए । महोत्सवमा स्थानीय रूपमा उत्पादित कृषिजन्य वस्तुहरूमा दाल, गुन्द्रुक, फापर, गेडागुडी, मह, विभिन्न प्रकारका तितौरालगायत खाद्यवस्तुहरूको स्टल राखिएको थियो भने उद्योग उत्पादनमा लत्ताकपडा, विद्युतीय सामान पनि प्रदर्शनमा राखिएका थिए । त्योभन्दा अर्को महŒवपूर्ण कुरा त टिकट काटेर भित्र गइसकेपछि बालबालिकाका लागि बालमैत्री वातावरण तथा युवाहरूका लागि युवामैत्री वातावरणमा विभिन्न आकर्षक खेल्ने सामग्रीहरूले पनि जोकसैको पनि मन लोभ्याउँथ्यो । ससाना केटाकेटीहरूका लागि पानीमा डुङ्गा चलाउनेदेखि स्काई ट्रेनको मज्जा, रोटे पिङ, हेलिकप्टर, एयर जम्पलगायत मनोरञ्जनका धेरै साधनहरूले बालबालिका, युवायुवती तथा सबै उमेरका मानिसहरू निकै हर्षित अनि उल्लासमय भएका देखिन्थे । त्यसका साथसाथै गीत–संगीतबाट मनोरञ्जन लिनका लागि राष्ट्रिय कलाकार, नेपाली फिल्म उद्योगका चलचित्रकर्मी, राष्ट्रिय स्तरमा नाम चलेका पप संगीत गायक–गायिकाहरूको समेत उल्लेख्य उपस्थितिमा दिनानुदिन बेजोड प्रस्तुति हुने गथ्र्यो ।
स्थानीय कलाकारहरूले पनि मञ्चमा दर्शकदीर्घाका लागि विभिन्न गीत–संगीतको माध्यमबाट भरपुर मनोरञ्जन दिइरहेका देखिन्थे । कोही संगीतको तालमा नै सबै जना दर्शकसँगै नाचिरहेका देख्न सकिन्थ्यो भने कोही सँगै गाइरहेका पनि देखिन्थ्यो । यसरी नाचगान गर्दा महोत्सवको माहोल नै रमाइलो भएको थियो । त्यसैगरी महोत्सवबाहिर पनि उत्तिकै रमाइलो थियो । व्यापारीहरूले आ–आफ्ना सामानहरू महोत्सवकै आयोजना पारेर बिक्री गरिरहेका देखिन्थे । फुटकर व्यवसायहरू निकै फस्टाएका देखिन्थे । लब डाँडाको नामले परिचित यस ठाउँमा विभिन्न थरीका मानिसहरूले आफ्ना व्यवसायहरू पनि गरिरहेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाभित्र बसोबास गर्ने मात्र नभएर बाहिरबाट समेत धेरै संख्यामा मानिसहरूको उपस्थिति रहेको थियो । आयोजकका अनुसार दैनिक रूपमा महोत्सवको मेला भर्न आउने मानिसहरूको संख्या २ हजारदेखि ४ हजारसम्म हुने र शनिबार र अन्य बिदा परेको दिनमा भने मानिसको संख्या बढेर दोब्बर हुनेसमेत बताइएको छ । यसले गर्दा ठाउँठाउँमा नगरपालिकाको पहिचान हुनुका साथै नगरपालिकाको पर्यटन प्रवद्र्धन तथा स्थानीय स्तरमा उत्पादित वस्तु तथा मौलिक संस्कृतिको समेत जगेर्ना गर्नमा टेवा पुग्ने देखिन्छ । अझै यसलाई निरन्तरता दिन पछि आउने सन्ततिका लागि पनि यस्ता महोत्सवको जगेर्ना गर्न आ–आफ्नो ठाउँबाट तथा स्थानीय निकायबाट साथ–सहयोग अनि हौसला कायम गर्दै जानुपर्ने आजको आवश्यकता पनि रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्