पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रको चासो «

पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रको चासो

सरकारले विकास खर्च गर्न नसक्दा पूर्वाधार आयोजनाहरूको अवस्था नाजुक छ । कुनै पनि राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेका छैनन् । पूर्वाधार निर्माण समयमा नहुँदा यसले समय तथा लागत बढाउने त छँदै छ, तर यसबाट निर्माण हुने पुँजीको प्रतिफल पनि नागरिकले पाउन सक्दैनन् । नेपालजस्तै आर्थिक स्थिति भएका मुलुकहरू पछिल्ला तीस वर्षमा नेपालभन्दा धेरै अगाडि बढ्न सक्नुको प्रमुख कारण पनि ती मुलुकमा भएको पूर्वाधारमा लगानी एवं पूर्वाधार आयाजनाप्रति ती मुलुकको गम्भीरता नै हो । नेपालको इतिहासका पछिल्लो तीस वर्षमध्ये सुरुवाती वर्षहरूबाहेक हरेक वर्ष झन् राजनीतिक अस्थिरता, सरकारी संयन्त्रको असक्षमता, संरचनागत विभेद एवं विकृति, नेतृत्वको अदूरदर्शिता तथा तत्कालको लाभहानिमा रमेका राजनीतिक दलका कारण विकास आयोजनाहरूको निर्माण एकादेशको कथाझैं हुन पुगेको छ । सडकको दुरवस्थाका कारण नेपालभित्रै एक स्थानबाट अर्को स्थानमा पुग्न एक दिनदेखि तीन दिनसम्म लाग्ने गरेको छ । जुन स्थानहरू एकाध घण्टामा पुग्न सकिन्छ, त्यस्ता स्थानहरूमा पनि पूरा एक दिन लाग्ने कारण वस्तु तथा नागरिकको आवतजावत अझै कठिनाइपूर्ण छ । समय तथा लागत बढी लागेका कारण नेपाली वस्तु तथा सेवाको लागत बढेर नागरिकले बढी मूल्य तिर्नुपरेको छ भने यसैका कारण नेपाली वस्तु तथा सेवा आयातित वस्तु तथा सेवाभन्दा महँगो पर्न गएको छ । स्वदेशी वस्तुले प्रतिस्पर्धी क्षमता गुमाएका कारण नै न त निर्यात बढ्न सकेको छ, न आन्तरिक बजारमा खपत नै । तर, गुणस्तर तथा मूल्यमा प्रतिस्पर्धात्मक भएका कारण आयातित वस्तु तथा सेवाको उपभोग बढ्दो छ । त्यसैले सरकारले मात्र पूर्वाधार आयोजनामा लगानी गरेर छोटो समयमा नै पूर्वाधारको निर्माण हुन नसक्ने स्पष्ट भइसकेको छ । यस्तो परिस्थितिमा निजी क्षेत्रले पूर्वाधारमा लगानीका लागि अवसर देख्नु स्वाभाविक हो । हुन त सरकारी निर्माण पनि निजी क्षेत्रद्वारा नै हुने त हो नि, तिनै निजी क्षेत्रले लगानी गरेका आयोजना कसरी समयमा नै निर्माण सम्पन्न होलान् भन्ने प्रश्न पनि गर्न सकिन्छ । तर, निजी क्षेत्रको लगानी भएका आयोजना समयमा नै निर्माण सम्पन्न भएका उदाहरणको रूपमा धेरै जलविद्युत् आयोजनाहरूको नाम लिन सकिन्छ । त्यही जलविद्युत् अयोजना बनाउन लागत तथा समयको तुलना गर्ने हो भने सरकारले भन्दा निजी क्षेत्रले कम समय तथा लागतमा आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छन् । त्यसैले अब सरकार एक्लैले होइन, सार्वजनिक–निजी साझेदारी वा निजी क्षेत्रलाई नै बनाउन दिनु एउटा विकल्प हो । हुन त नेपालमा सार्वजनिक–निजी साझेदारीका धेरै सफल उदाहरणहरू छैनन् भन्न सकिन्छ । तर, नेपालमा अभ्यास गर्न खोजिएको सार्वजनिक–निजी साझेदारीभन्दा विश्वमा हाल पाँचांै चरणको सार्वजनिक–निजी साझेदारीको अभ्यास आइसकेका कारण पनि सरकारले त्यसलाई अवलम्बन गर्न आवश्यक छ ।
पछिल्ला वर्षहरूमा निजी क्षेत्रले पूर्वाधार आयोजनामा लगानी गर्न खोजेको एउटा प्रमुख कारणमध्ये एक भनेको सरकारी काम गर्ने शैलीका कारण पनि हो । जुन चुस्तता, मितव्ययिता तथा व्यावसायिकताका साथ निजी क्षेत्रले काम गर्छ, त्यस्तो चुस्तता, मितव्ययिता तथा व्यावसायिकता सरकारी संयन्त्रमा हुन सकेन । यसका पनि विभिन्न कारण छन् । तर, प्रमुख कारण भनेको सरकारी ऐन तथा कानुन नै हुन् । त्यस्तै, निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्न चाहनुको कारण पनि छ । हाल पूर्वाधारको अभावका कारण निजी क्षेत्रको उत्पादन तथा ढुवानी लागत बढेको छ । राम्रो पूर्वाधार बनेको अवस्थामा यसले निजी क्षेत्रको उत्पादन तथा ढुवानी लागत घटाउन तथा नेपाली वस्तु तथा सेवा मूल्यमा प्रतिस्पर्धी बन्न सघाउ पुग्छ । त्यसैले हाल महँगो भएको नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन पूर्वाधारमा लगानी आवश्यक छ । त्यसैले निजी क्षेत्र लगानी गर्न तयार भएको पनि हो । पूर्वाधारको निर्माण र बजेटमा भएका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा पुँजीगत खर्च हुन नसकेका कारण पनि पूर्वाधार निर्माण र लगानीका लागि वातावरण तयार गर्न पूर्वाधार सम्मेलनले सघाउ पुग्ने अपेक्षा गर्न सकिन्छ । किनकि विकासका लागि पूर्वाधार प्रमुख सर्त हो ।

प्रतिक्रिया दिनुहोस्