विपद्ले उद्योग तथा व्यावसायिक क्षेत्र क्षेत्रमा पार्ने प्रभावबारे अभिमुखीकरण «

विपद्ले उद्योग तथा व्यावसायिक क्षेत्र क्षेत्रमा पार्ने प्रभावबारे अभिमुखीकरण

विभिन्न प्रकारका विपद्ले उद्योग तथा व्यावसायिक क्षेत्रको निरन्तरतामा पार्ने दीर्घकालीन प्रभावबारे उद्योगी तथा व्यावसायिक र सरोकारवालालाई अभिमुखीकरण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिले विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममामा विपद्ले पार्ने असर र त्यसको रोकथामका लागि अपनाउन सकिने विधिबारे उद्योगी तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिलाई जानकारी गराइएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद्को अवस्था आइसकेपछि भइरहेका विद्यमान व्यवस्था र सन्तुलनलाई असर पुर्‍याउने बताए । त्यसको ठूलो असर उद्योग व्यवसाय क्षेत्रमा पर्नसक्ने भएकाले विपद् अघि नै जोखिम न्यूनीकरण गर्न आवश्यक उपायहरूको खोजी गर्नुपर्ने बताए । विपद्बाट हुने जोखिमको असरलाई एउटै निकायले मात्रै बोक्न नसक्ने भएकाले जोखिम न्यूनीकरण गर्न सवै क्षेत्रको दायित्व समान रहने सचिव पराजुलीले उल्लेख गरे ।
उनले प्रदेश–१ सरकारले चालु आर्थिक वर्षमा विपद्को जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । १८ साउनमा उदयपुरको बेलका नगरपालिकामा कोसी नदी पश्चिमतर्फ पसेपछि विस्थापित बनेका नागरिकका लागि प्रदेश–१ सरकारले ९ हजार किलो चामलसहित दाल, नुनलगायतका आत्यावश्यक सामग्री वितरण गरिसकेको उनले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले विपद्ले मुलुकको अर्थतन्त्रलाई असर गर्ने भएकोले उद्योगी व्यवसायी क्षेत्रमा त्यसबारे पर्याप्त ज्ञान सीपको आवश्यकता हुनुपर्ने बताए । उनले उद्योगहरूले विपद् जोखिम न्यूनिकरणका लागि योजना बनाएर काम गर्नुपर्ने सुझाव दिए । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका सभापति किशोर प्रधानले विपद्को समयमा उद्योगलाई बचाउन व्यवसायी नै बढी सजग हुनुपर्ने बताए । उनले त्यसकै लागि अभिमुखीकरणका माध्यमबाट व्यावसायिक र अन्य सरोकारवाला क्षेत्रलाई महासंघले सहजीकरण गरिरहेको जानकारी दिए ।
कार्यक्रममा महासंघकी वरिष्ठ अधिकृत रजनी नेपाल र सहयोगी निकाय एसिया प्यासिफिक एलायन्सका कन्ट्री डाइरेक्टर ताईकामी कुराले विपद्को बेलामा व्यावसायिक क्षेत्रको निरन्तरताका लागि अपनाउनुपर्ने रणनीति र त्यसका लागि गर्नुपर्ने कामहरूबारे प्रस्तुतिकरणका माध्यमबाट जानकारी गराए ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले विपद्को बेलामा अन्य निकायहरूभन्दा पहिले राज्य तयार हुनुपर्ने बताए । उनले विपद्अघि नै गरिने तयारीले जोखिम न्यूनीकरणमा मद्दत पुर्‍याउने दाबी गरे । साथै निजी क्षेत्रले समेत विपद्को समयमा सहयोग गर्दै आइरहेकोले सरकारसँगको सम्बन्ध सकारात्मक हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल भूकम्पीय जोखिममा विश्वको ११ औं र चट्याङको प्रकोपबाट हुने जोखिमा ५औं स्थानमा रहेको जनाइएको थियो । ठुला विपद्का कारण व्यवसायिक क्षेत्र ध्वस्त हुने सम्भावना ४० प्रतिशत हुने र त्यस्तो जोखिमको २ वर्षभित्र आवश्यक टेवा दिन नसकिए थप २० प्रतिशत उद्योग व्यवसाय ध्वस्त हुनसक्ने जानकारी गराइएको थियो । विपद्को समयमा पनि व्यावसायिक क्षेत्रले निरन्तरता पाएको खण्डमा भने त्यहाँ काम गर्ने श्रमिक तथा कर्मचारीको जीवनको सुरक्षा, घाटा कम हुने, विश्वसनीयता र प्रतिष्ठामा वृद्धि हुने, प्रतिस्पर्धात्मक वित्तीय लाभ प्राप्त हुने र सामाजिक उत्तरदायित्वसमेत सहजै पूरा हुने जनाइएको थियो ।
कार्यक्रमका सभापति एवं महासंघ प्रदेश समितिका अध्यक्ष टिकाराज ढकालले विपद्को समयमा धनजनको क्षति बढ्ने भएकोले जोखिम पूर्वतयारी र असरको विश्लेषण गरेर मात्रै उद्योग व्यवसाय क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिए । उनले विपद्पछि उद्योगधन्दा धरासायी हुने र त्यसबाट राज्यले राजस्वसमेत प्राप्त नहुने अवस्था सिर्जना हुने भएकाले सरकारले हरेक समयमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्