Logo

टानको अध्यक्षमा निलहरि बास्तोला विजयी

पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपल (टान) को ४४औं वार्षिक साधारण सभा एवम् निर्वाचनबाट निलहरी बास्तोलाले ६१६ मतसहित विजयी भएका छन् । अध्यक्षका प्रत्यासी द्वय रामप्रसाद सापकोटा र बोधराज भण्डारीलाई पराजित गर्दै बाँस्तोला बिजयी भएका हुन् ।
निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बास्तोला प्यानलनै विजयी भएको हो । टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहालले ५०४ मत, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित ५५२ मतका साथ विजयी भएका छ । द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले ५९८ मत ल्याएर विजयी भए । महासचिवमा विनोद सापकोटा (बाबु) ५४४ मत, सचिवमा होमनाथ भट्टराई ५०३ मतका साथ विजयी भएका छन् । कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिनाले ४८८ मत, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा ५१६ मतसहित विजयी भएका हुन् ।
यस्तै महिला सदस्यमा सजना त्रिपाठी, खुल्ला सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ ।
टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने पर्यटन प्रवद्र्धनका निमित्त व्यावसायीक संस्था बनाउन केन्द्रीत हुने बताए । उनले, निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि निर्वाचित टिमले काम गर्ने बताए । टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाएर व्यवसायीका समस्या सम्बोधन गरिने उनको भनाइ छ ।
कोभिडबाट सिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बास्तोलाले बताए । उनले भने, “व्यवसायीले खोजेजस्तो टान बनाउन मैले यो क्षेत्रमा विताएको पर्वतीय पर्यटनको २८ वर्षे अनुभवको सदुपयोग गर्दै टे«किङ व्यवसायीहरुको हितमा लगाउने छु ।”
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८ सय ५० व्यवसायी आबद्ध टानमा एक हजार २ सय ५० मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्