कांग्रेसले गरायो दल दर्ता «

कांग्रेसले गरायो दल दर्ता

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले मंगलबार दल दर्ता गरेको हो ।
दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । आगामी निर्वाचनका लागि लगभग सबै दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । निर्वाचन आयोगले मंगलबार ५ बजेसम्मका लागि दल दर्ता गर्न सक्ने बताएको थियो । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो । दल दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति गुरुङले कांग्रेसले निर्वाचनका लागि अधिकतम सिट खोज्ने तर सहमतिबाट तालमेल गरेर जाने बताए ।
उनले सहअस्तित्व र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धताअनुसार नै सबैलाई समेट्ने बताए । सबैलाई समेटेर जाने क्रममा धेर, थोरमा चित्त बुझाउनु पर्ने उनले बताए । उनले सहमति र सहकार्य बाट नै देशमा राजनीतिक स्थिरता र मुलुकको समुन्नति खोज्ने यात्रामा लाग्ने धारणा राखे । उनले पार्टीभित्र सिट बाँडफाँटमा न्यायोचित व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको बताए ।
उनले माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर नेपाल समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरु चुनावमा प्रतिष्पर्धा गर्ने कुराले गठबन्धनको भागबण्डामा असर नपर्ने बताए । उनले गठबन्धन दल भित्रका दलसँग मिल्न आउने अन्य दलले खासै असर नपार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्