अर्थतन्त्र अझै दबाबमा, छैनन् सुधारका संकेत «

अर्थतन्त्र अझै दबाबमा, छैनन् सुधारका संकेत

गत आर्थिक वर्षमा महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार असारमा मूल्यवृद्धि ८.०८ प्रतिशत पुगेको छ भने वार्षिक औषत मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा वार्षिक औषत मूल्यवृद्धि ९.९३ प्रतिशत रहेकोमा त्यसपछिका आर्थिक वर्षमा घट्दै गएको थियो ।
तर, विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले गत आर्थिक वर्ष २०७८/०७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को सुरुका महिनाहरुमा मुद्रास्फीति न्यून रहेका कारण वार्षिक औषत उपभोक्ता मुद्रास्फीति भने ६.३२ प्रतिशतमा सीमित भएको छ । सरकारले गत आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतभित्रै कायम गर्ने लक्ष्य लिएको थियो । सरकारको लक्ष्यभन्दा कम मूल्यवृद्धि भए पनि वार्षिक औषत मूल्यवृद्धि भने ६ वर्षयताकै उच्च हो । गत आवको मूल्यवृद्धिको चापका कारण केन्द्रीय बैंकले चालू आर्थिक वर्ष पनि दोहोरो अंकमा मूल्यवृद्धि पुग्ने अनुमान गरेको छ । तर, लक्ष्य भने चालू आर्थिक वर्षमा पनि सात प्रतिशत प्रक्षेपण गरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७८ असार महिनामा मुद्रास्फीति ४.१९ प्रतिशत रहेकोमा २०७९ असारसम्म ८.०८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमश: २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै, गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमश: १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको पछिल्ला महिनाहरुमा महँगी बढे पनि विदेशी मुद्रा सञ्चितिमा भने केही सुधार आएको छ । आवको अन्तिम एक महिनामा ३९ अर्ब रुपैयाँले विदेशी मुद्रा सञ्चिति बढेको छ । जेठसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेकोमा असारमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको हो । तर, विदेशी मुद्रा सञ्चिति अघिल्लो वर्षभन्दा घटेको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी मुद्रा सञ्चितिमा १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको पनि केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकको भनाइ छ ।
यसका साथै गत आवमा रेमिट्यान्स आय ४.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७८/०७९ मा रेमिट्यान्स ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो आवमा रेमिट्यान्स आय ९.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेका कारण रेमिट्यान्स आय बढेको अनुमान छ ।
यसका साथै गत आवमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । तर, गत अर्थिक वर्षमा २ खर्ब ५५ अर्ब शोधानान्तर घाटा भएको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको हो । अघिल्लो वर्ष असार मसान्तमा १ अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो । साथै, चालू खाता घाटा ३ खर्ब ३३ अर्ब ६७ करोडबाट ६ खर्ब २३ अर्ब ३३ करोड घाटामा पुगेको छ ।
यसका कारण गत आवमा बाह्य क्षेत्र ठूलो संकटमा गएको थियो । तर, चालू आवमा पनि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छैन । बजेटभन्दा ठूलो व्यापार घाटाका कारण अर्थतन्त्र तंग्रिन समय लाग्ने अर्थविद्हरुको भनाइ छ । गत आवको आयात–निर्यातको असमान दूरी थप लम्बिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्षभित्र कुल १९ खर्ब २० अर्ब रुपैयाँबराबरको विदेशी वस्तु तथा सेवाको आयात हुँदै गर्दा जम्मा २ अर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्