सामाजिक सुरक्षा कोषको सापटी सेवा सुरु «

सामाजिक सुरक्षा कोषको सापटी सेवा सुरु

सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन् । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा पाउने भएका हुन् ।
सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना सुरु भएको हो । कोषले सापटी योजनाअन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना भदौ १ गतेबाट सुरु गरेको छ । यी ४ वटा सापटी योजना अन्तर्गत मंगलबारबाट विशेष सापटी सेवा कार्यान्वयनमा आउने कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजना सेवा मंगलबारबाट कार्यान्वयनमा आउने बताए । उनका अनुसार प्रक्रियाका हिसाबले विशेष सापटी २ कार्यदिनमा नै लिन सकिने भएकोले यसबाट सुरु भएको हो । “कोषमा हाल विशेष सापटीका ३/४ वटा निवेदन परेको छ । मंगलबार विशेष कार्यक्रम गरेर सापटी रकम प्रदान गरिँदै छ,” उनले भने “योगदानकर्ता विशेष सापटी लिन कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेको र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्न सकिने छ ।”
निर्देशिकाअनुसार विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुन: विशेष सापटी लिन सक्ने प्रावधान रहेको छ । यसैगरी साविकमा लिएको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पुन: विशेष सापटी प्रदान गर्न सकिन व्यवस्था रहेको छ ।
कोषमा योगदान रकम नियमित जम्मा गरेको ३ वर्षपछि सापटी लिन सकिने व्यवस्था रहेको हुनाले ३ वर्ष पुगेका सबैले सरल प्रक्रियामा सापटी लिन सक्ने कोषले जनाएको छ । विशेष सापटी लिएका योगदानकर्ताले मासिक तलबबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटकपटक वा एकै पटक जम्मा गरी सापटी रकम चुक्ता गर्न सक्ने जनाइएको छ । कोषबाट प्रदान गरिने विशेष सापटी माग गर्ने तथा भुक्तानी अनलाइन प्रणालीमार्पmत समेत गर्न सकिनेछ । सापटी लिन चाहने योगदानकर्ताले आफू कार्यरत कार्यालयको सिफारिसका साथमा कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्ने छ । विशेष सापटी नागरिकता र कोषले प्रदान गरेको परिचयपत्रको प्रतिलिपि पेश गरेको तत्कालै नगद पाउने भएकाले यसमा आकर्षण बढ्ने कोषको अनुमान छ । विशेष सापटीबाहेक अन्य सापटीको हकमा भने कोषले तोकेअनुसार धितो राख्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्