ऐनविपरीत बसपार्क सञ्चालन गर्न अनुदान «

ऐनविपरीत बसपार्क सञ्चालन गर्न अनुदान

उद्घाटनको एक वर्षसम्म सञ्चालन हुन नसकेको फूलबारी बसपार्क सञ्चालन गर्नका लागि धनगढी उपमहानगरपालिकाले आफ्नै आर्थिक ऐनविपरीत निर्णय गरेको छ ।
उपमहानगरपालिकाले आउँदो १ भदौदेखि आर्थिक ऐन २०७९ विपरीत बसपार्कमा पार्किङ गरिने बसबाट शुल्क लिनुको सट्टा सञ्चालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले १ भदौदेखि माघ मसान्तसम्म (६ महिना) बसपार्क नि:शुल्क सञ्चालन गर्ने जनाएको छ ।
बसपार्क व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सुदूरपश्चिम बस व्यवसायी समितिलाई दिंँदै उपमहानगरपालिकाले सो समितिलाई मासिक १० हजार रुपैयाँ अनुदान दिने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । फूलबारीमा चल्ने सबै बसहरू अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गर्ने र सो क्षेत्रमा सञ्चालन हुने अटोहरू पनि बसपार्कबाट सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ को अनुसूची ८ को (क) मा बसपार्कबाट यात्रु बोकेर निस्केर जाने सवारी साधनले प्रतिटिकट रकमको लामो दूरीका लागि १५ र छोटो दूरीका लागि २० प्रतिशत प्रतिट्रिप शुल्क निर्धारण गरिएको छ । सोको (ख) मा बसपार्कमा सवारी साधन पार्क गरेवापत प्रतिसवारी साधन एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बसपार्क बने पनि बसहरू त्यहाँ नआउने भएकाले बानी पार्नका लागि बसपार्क नि:शुल्क गर्ने र व्यवस्थापन गर्नेलाई अनुदान दिने निर्णय गरिएको बताए । “संरचना बन्यो तर बस नआउने भएपछि संरचनामा गरिएको लगानी खेर गइरहेकाले बसपार्कमा बस ल्याउने बानी पार्नका लागि ६ महिना नि:शुल्क गर्ने निर्णय गरिएको हो,” उनले भने, “त्यसपछि उपमहानगरपालिकाले बसपार्कबाट आम्दानी गर्छ ।”
दुई करोड ७५ लाख १५ हजार रुपैयाँको लागतमा १७ कठ्ठा जमीनमा ५० वटा बस राख्न सकिने क्षमताको पार्किङ, टर्मिनल भवन, खानेपानी, घण्टाघरलगायतका संरचना २०७८ भदौमा निर्माण सम्पन्न गरिएको थियो । सो बसपार्क सञ्चालनको तयारी बिना तत्कालीन नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । बसपार्क उद्घाटनपछि अलपत्र परेको थियो ।

प्रतिक्रिया दिनुहोस्