औद्योगिक क्षेत्रमा उद्योग खुल्न थाल्यो

सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था अहिले सुधारोन्मुख बन्दै गएको छ । जिल्ला सदरमुकामको छेउमै राजविराज–रुपनी सडकखण्डस्थित रुपनी गाउँपालिका–५ बसबिट्टीमा पर्ने यो औद्योगिक क्षेत्रमा अहिले विस्तारै उद्योगहरू खुल्न थालेका हुन् ।
१० वटा उद्योगहरूसम्म सञ्चालन गर्न सक्ने सेडहरू निर्माण भएको यस औद्योगिक क्षेत्रमा पछिल्लो पटक एउटा उद्योगका लागि आफ्नै लगानीमा सेड निर्माण गरिएको हो । कार्यालय प्रमुख सञ्जय थापाले हाल खाली रहेको सेडहरूका लागि पनि विभिन्न उद्योग सञ्चालनका लागि निरन्तर संवाद भइरहेको जानकारीसमेत दिए । औद्योगिक क्षेत्रमा हाल दुग्धजन्य पदार्थ उत्पादन गर्ने मिलन डेरी उद्योग, मिनरल वाटरको बोतल निर्माण गर्ने महालक्ष्मी पेट इन्डस्ट्रिज र प्लास्टिक पाइप निर्माण गर्ने कोसी पोलिमर्श सञ्चालनमा छन् भने माँ भगवती कृषि टमाटो फुड इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग सञ्चालनको तयारीमा छ ।
त्यस्तै उषा जल उद्योग र कान्तिपुर प्लास्टिक निर्माणाधीन अवस्थामा छ भने एसएनको इलेक्टोर्स, माँ लक्ष्मी खाद्य उद्योग, पदमा ज्योति प्लास्टिक र अल नेपलीज टी एन्ड कफी सेन्टर बन्द अवस्थामा छन् । यता वर्षौदेखी बन्द रहेका यी चार उद्योगहरूलाई बाँकी वक्यौताका लागि बारम्बार आग्रहसमेत गरेको तर हालसम्म कुनै सुनुवाई नभएकोले उनीहरूका सञ्चालकलाई अन्तिम पटक पत्र काटेर अब लिलामी प्रक्रियामा लैजाने लागेको प्रमुख थापाको भनाइ छ ।
भारतीय लगानीमा वि.सं. २०४४ सालमा शिलान्यास भएको औद्योगिक क्षेत्र ०५१ सालमा निर्माण कार्य सम्पन्न भएपछि सोही वर्ष नेपाललाई हस्तान्तरण गरिएको थियो ।झन्डै साढे २२ बिगाहा क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र शिलान्याश भएको स्थापना कालदेखि नै उद्योगविहीन रहेको थियो । यस औद्योगिक क्षेत्रको अवस्था ०६२/६३ को जनआन्दोलनपश्चात् आएको राजनीतिक परिवर्तनपछि पनि खासै सुधारोन्मुख भएन् ।
औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत्, टेलिफोन, खानेपानीलगायत सम्पूर्ण सुविधा छ । यता उद्योगहरूको सुरक्षाकालागि औद्योगिक सुरक्षाबलका लागि समेत पहल भइरहेको छ । औद्योगिक क्षेत्रमा नेपाल सरकारको तर्फबाट कार्यालय प्रमुखसहित, २ जना प्राविधिक, एक जना लेखापाल र ५ जना कार्यालय सहयोगी गरी ९ जना कर्मचारी हाल कार्यरत छन् ।
एमके यादव