Logo

प्रसारणलाइन नहुँदा विद्युत उत्पादन भएन

२५ मेगावाट दोर्दी ‘ए’ निर्माण सम्पन्न

२५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वरा निर्मित सो आयोजना निर्माण कार्य सकिएसँगै संरचना परीक्षणसमेत सम्पन्न भएको हो ।
अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्‍याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत उत्पादन गर्ने काममात्रै बाँकी रहेको वस्तीले बताए ।
लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माण भएको सो आयोजनामा हेडवक्र्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायत अन्य संरचना निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो । २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना २०७४ मसान्तसम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिने छ । तर राष्ट्रिय विद्युत प्रसारण लाइनको निर्माण कार्य सम्पन्न नहुँदा विद्युत उत्पादन गर्न नपाइएको आयोजनाले जनाएको छ ।
गत वर्ष नै निर्माण सम्पन्न भएको दोर्दी करिडोर प्रसारणलाइन पनि अघिल्लो असारमा आएको बाढीले क्षति पुर्‍याएपछि पुन: निर्माण हुन नसकेको हो । राष्ट्रिय प्रसारणलाइन निर्माणको काम सम्पन्न भएसँगै सो आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन हुने भएको छ ।
२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटक पटक बाढीका कारण निर्माण अवधि लम्बिँदै आएको हो । हाल आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पुर्‍याई विद्युत उत्पादनको तयारी भएको छ ।
रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

प्रतिक्रिया दिनुहोस्