गाउँमै सेवा पाउँदा मक्ख «

गाउँमै सेवा पाउँदा मक्ख

बागलुङ नगरपालिका–११ रायडाँडा निवासी खगेश्वर उपाध्यायका श्रीमती र दुई छोरा अशक्त छन् । बौद्धिक अपाङ्गताबाट गु्रजिरहेका उनीहरूको सुसार र लालनपालनको अभिभारा ६७ वर्षीय उपाध्यायको काँधमा छ ।
दु:खजिलो गरेर परिवारको गुजारा धानिरहनुभएका उनी आइतबार नगरपालिकाले आयोजना गरेको ‘सेवा प्रवाह घुम्ती शिविर’मा भेटिइन् । अपाङ्गता परिचयपत्र बनाउन श्रीमती जमुना, छोरा मित्रप्रसाद र लोकनाथलाई साथै लिएर उपाध्याय शिविरमा पुगेकी थिइन् ।
वडा कार्यालय परिसरमै चलेको शिविरबाट सेवा लिएपछि उहाँले भन्नुभयो, “गाउँमै सेवा पाउँदा खुसी लागेको छ, नत्र जम्मैलाई बोकेर बजार जानुपथ्र्यो ।” घरकै तीन–तीनजना अशक्त सदस्यलाई लिएर नगरपालिका धाउनुपर्ने बाध्यता टरेपछि उनी दंग देखिन्थिइन् ।
त्यत्ति कामका लागि उपाध्यायले रायडाँडादेखि सदरमुकाममा रहेको नगरपालिका कार्यालय आउजाउ गर्नुपरेको भए धेरै खर्च र सास्ती व्यहोर्नुपर्ने हुन्थ्यो । सोही वडाका शेरबहादुर थापा पनि दुई अपाङ्गता भएका छोरीलाई परिचयपत्र दिलाउन शिविरमा पुग्नुभएको थियो ।
सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने उद्देश्यले नगरपालिकाले शिविर सञ्चालन गरेकामा उनले खुसी व्यक्त गरिन् । “परिचयपत्रका लागि गाडी नै रिजर्भ गरेर बागलुङ जानुपथ्र्यो, शिविर आएपछि सबैलाई सुविस्ता मिलेको छ, खर्च, दु:ख केही झेल्नुपरेन”, उनले भनिन् ।
थापाकी २३ वर्षीया छोरी यमुना र १६ वर्षीया रेनुकामा बौद्धिक अपाङ्गता छ । दुवैले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन् । बागलुङ–१० भकुण्डेकी ७० वर्षीया तुलसी विकले सोमबार गाउँमै चिकित्सक भेट्न पाउनुभयो । वडामा सञ्चालित शिविरबाट नि:शुल्क स्वास्थ्य जाँच र औषधि पाएपछि विक प्रफुल्ल देखिन्थिइन् ।
“छातीको समस्या भएर पोखराको अस्पतालमा दस दिन बसेँ, अहिले यहाँ देखाउँदा डाक्टरले सबै ठीक छ भन्नुभएको छ, औषधि पनि दिनुभएको छ, अब पोखरा जान मन छैन”, उहाँले भन्नुभयो, “औषधि लिन पनि कहाँकहाँ जानुपथ्र्यो, अहिले यहीँ पाइयो, खुसी लागेको छ ।”
उपाध्याय, थापा र विक मात्र होइन घरदैलोमै नगरका सेवा पाउँदा गाउँका सबै मक्ख छन् । नगरको महिला तथा बालबालिका शाखाप्रमुख सरस्वतीदेवी रेग्मीले उपाध्यायकी श्रीमती जमुनाले ‘क’ र छोराहरू मित्रप्रसाद र लोकनाथले ‘ख’ वर्गको परिचयपत्र पाएको जानकारी दिइन् ।
पहिले अपाङ्गता परिचयपत्र वितरण गर्ने महिला तथा बालबालिका कार्यालय खारेज भएको स्थितिमा नगरपालिकामार्फत परिचयपत्र प्रदान गरिएको उनको भनाइ छ । “शिविरबाट नयाँ, पुराना सबैलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ”, शाखाप्रमुख रेग्मीले भन्नुभयो, “घरदैलोमै सेवा पाउँदा अपाङ्गता भएका व्यक्ति र उहाँहरूका परिवारजन खुसी हुनुहुन्छ ।”
रायडाँडाको शिविरबाट ‘क’ वर्गका पाँच, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका छ र ‘घ’ वर्गका दुई गरी २८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । यस्तै भकुण्डेमा सञ्चालित शिविरबाट ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । तीमध्ये ‘क’ वर्गका १५, ‘ख’ का १० र ‘ग’ का पाँचजना छन् ।
‘क’ वर्गको परिचयपत्र पाउने पूर्ण अशक्त व्यक्तिले मासिक रु चार हजार र ‘ख’ वर्गका अति अशक्तले रु दुई हजार एक सय भत्ता बुझ्छन् । ‘ग’ र ‘घ’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिले भने राज्यले दिने अरू सुविधा र सहुलियत मात्र पाउँछन् ।
ग्रामीण भेगका सेवाग्राहीलाई लक्ष्य गरी नगरपालिकाले आइतबार वडा नं ११ रायडाँडा र सोमबार वडा नं १० भकुण्डमा शिविर सञ्चालन गरेको हो । रायडाँडा नगरको केन्द्रदेखि भौगोलिक हिसाबले टाढा र कठिन वडा पनि हो ।
शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, नि:शुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा उपभोक्ता समिति र सर्वसाधारणलाई वित्तीय साक्षरता अनुशिक्षण पनि दिइएको थियो ।
वडा नं ११ रायडाँडामा सञ्चालित शिविरमा रु १० लाखभन्दा माथिका तीन र १० लाख मुनिका पाँच योजना सम्झौता गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
यस्तै शिविरमा सञ्चालित नि:शुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ४० जना लाभान्वित भएका थिए । तीमध्ये ४३ जना महिलाको पाठेघर जाँच र उपचार गरिएको थियो । सत्र जना महिलाले यौनजन्य रोगको उपचार र चार जनाले परिवार नियोजनको सेवा पाएका थिए । शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । रायडाँडाको छ स्थानको माटोको नमूना परीक्षण गरिएको हो । परीक्षणका क्रममा दोमोट प्रकारको माटो पाइएको थियो ।
सोमबार भकुण्डेमा सञ्चालित शिविरबाट चालु आवमा स्वीकृत पूर्वाधारतर्फका १६ वटा योजना सम्झौता भएको वडाध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । शिविरमा एक सय ५१ जनाको सामान्य स्वास्थ्य जाँच तथा ६७ जनाको पाठेघर परीक्षण गरिएको थियो । तीमध्ये दुई जनामा रिङ्ग पेशरी लगाइएको र १६ जनाको यौन रोग परीक्षण गरिएको नगरका जनस्वास्थ्य निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार बिरामीलाई नि:शुल्क औषधि वितरणसमेत गरिएको थियो । नेपाली सेनाका चिकित्सक शिशिर खाँडसहित नगरपालिकाका स्वास्थ्यकर्मीले सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए । एक सय चार जनाको मधुमेह परीक्षण र परिवार नियोजनतर्फ दुई जनामा नरप्लान्ट राखिएको र एक जनाको नरप्लान्ट झिकिएको जनाइएको छ ।
यस्तै भकुण्डेका १८ वटा स्थानको माटो परीक्षणसमेत गरिएको छ । चालीस रोपनी जमिनलाई समेट्ने गरी गरिएको परीक्षणमा माटोमा अम्लीयपन अधिक पाइएको नगरको कृषि शाखाका प्रमुख राहुल केसीले बताए । किसानलाई आवश्यक मात्रामा कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको उनको भनाइ छ ।
शिविरकै क्रममा बालमैत्री स्थानीय शासनका सूचक स्थानीयकरण गर्न सरोकार भएका पक्षलाई अनुशिक्षणसमेत प्रदान गरिएको थियो । बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा यसअघि नै भइसकेको छ ।
नगरबाट प्रवाह हुने सेवा पहुँचयोग्य, सरल र छरितो बनाउन वडास्तरमा घुम्ती शिविरको अभियान थालिएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २, ३ र ४ बाहेक नगरका दसवटै वडामा शिविर सञ्चालन गरिने उनले जानकारी दिए । दोस्रो चरणको शिविर भदौ ८ गते वडा नं १२ अमलाचौरबाट सुरु हुने नगरपालिकाले जनाएको छ । शिविरमा झण्डै ८० प्रतिशत योजना सम्झौता गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । वडा तहमै योजना सम्झौता गर्दा उपभोक्तालाई नगरपालिका धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।
नगरप्रमुख वसन्तकुमार श्रेष्ठले घरदैलोमै पुगेर नागरिकलाई सेवा दिन र नजिकको सरकारको अनुभूति दिलाउन घुम्ती शिविरको अभियान थालिएको बताए । “अहिले सुरुआत मात्रै गरिएको छ, यो परीक्षण पनि हो, अभियानको प्रभावकारिता हेरेर आउँदा वर्षमा पनि निरन्तरता दिन्छौँ,” उनले भने ।

तल्लो इन्द्रावतीको निर्माण प्रक्रिया अघि बढ्यो
सिन्धुपाल्चोक, ३० साउन (रासस): दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुन: अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुन: निर्माण प्रक्रिया थालिएको हो ।
चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि आज कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत आयोजनाबाट प्रभावित हुने ७, ८, ९, १० र ११ का वडाध्यक्ष, प्रभावित स्थानीयलगायत सरोकारवाला निकायको उपस्थिति थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलविद्युत् क्षेत्रको विकासका लागि स्थानीय सरकार सकारात्मक रहेको र स्थानीयको समस्या समाधान गर्दै तल्लो इन्द्रावती आयोजना निर्माणमा सहयोग गर्ने बताए ।
यस्तै उपप्रमुख उमा प्रधानले आयोजना निर्माणका लागि सहकार्य गर्दै प्रभावित क्षेत्रको विकासमा पनि ध्यान दिन जरुरी रहेको बताइन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रभावित स्थानीयबाट उठेका प्रश्नलगायत जलविद्युत् क्षेत्रको महत्व र आवश्यक्ताका विषयमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले प्रस्ट पारेका थिए । आयोजनाबाट मेलम्ची नगरपालिका–७, ८, ९, १० र ११ वडा प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्