वैदेशिक रोजगारीबाट फर्किएर सीप विकास तालिम «

वैदेशिक रोजगारीबाट फर्किएर सीप विकास तालिम

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का खिलनाथ काफ्लेको १० वर्ष वैदेशिक रोजगारीमा नै बित्यो । उनी दुई पटक गरेर वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका थिए । पहिलो पटक विदेश जाँदा उनी पाँच वर्षसम्म इलेक्ट्रिसियनको काम गरे ।
दोश्रो पटक फेरि विदेश जाँदा उनी सवारी चालकको रुपमा काम गरे । तर, अहिले उनी स्वदेशमै नेपाल सरकारको शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र युएनडीपी स्किल परियोजनाको सहयोगमा साना व्यावसाय परामर्श तथा तालिम केन्द्र प्रालिले आयोजना गरेको विल्डिङ इलेक्ट्रिसियन तालिम लिइरहेका छन् ।
वैदेशिक रोजगारीमा गएर उनले घर घडेरी जोडेपनि फेरि उनी तालिम लिइरहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी संकटमा विदेशमा रोजगारी गुमाएर आउनेका लागि सरकारले सीप तथा क्षमता अभिवृद्धि गरी स्वरोजगार बनाउने तथा वैदेशिक रोजगारीमा जानको लागि दक्ष कामदारको तयारी गर्ने उद्देश्यले युएनडीपी स्किल परियोजनाको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
१० वर्ष विदेश बसेरका आएका काफ्ले सीप तथा क्षमता अभिवृद्धि तालिम सम्बन्धी तालिम लिएर स्वदेशमै स्वरोजगार बन्ने चाहना रहेको बताउँछन् । प्राविधिक तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) बाट अनुमति प्राप्त संस्थाबाट तालिम लिएपछि प्रमाणपत्र पाउने र त्यसले आफूलाई स्वरोजगार बन्न तथा वैदेशिक रोजगारीमा जानलाई पनि सहज हुने भएकाले तालिम लिएको उनले बताए ।
काफ्लेसँगै सिराहाको कल्याणपुरका अनिल शर्मा पनि सोही तालिम लिइरहेका छन् । वैदेशिक रोजगारीका लागि दुबई गएका उनी १३/१४ महिना काम गरेर नेपाल फर्किए । उनी विदेशमा कार्पेन्टरको काम गर्न भनेर म्यानपावर मार्फत गएका थिए । तर, उनलाई त्यहाँ गएपछि स्काफोल्डिङ्गको काम गर्नुपर्‍यो । त्यसैले उनी भिसा अवधि पूरा नभई नेपाल फर्किए ।
काफ्ले र शर्मा जस्ता वैदेशिक रोजगारीबाट फर्किएका ६० जना महिला तथा पुरुषले साना व्यवसाय परामर्श तथा तालिम केन्द्रले आयोजना गरेको नि:शुल्क तालिममा विल्डिङ्ग इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर र नेपाली खाना बनाउने (नेपाली कुजन कुक) सम्बन्धी तालिम लिइरहेका छन् ।
धनुषाको ढल्केबरमा २० जना विल्डिङ्ग इलेक्ट्रिसियन, सिराहाको विरेन्द्रबजारमा आल्मुनियम फेब्रिकेटरको २० जना र बाराको निजगढमा नेपाली खाना बनाउने (नेपाली कुजन कुक) को २० जनाले तालिम लिइरहेको साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक विजय श्रीवास्तवले जानकारी दिए ।
साना व्यावसाय परामर्श तथा तालिम केन्द्रले मधेस प्रदेशका १०० जना रिटर्नी माइग्रेट अर्थात वैदेशिक रोजगारी गुमाएर नेपाल फर्किएकालाई तालिम दिने उद्देश्य अनुरुप ६० जनालाई तालिम दिइएको श्रीवास्तवले बताए ।
६० जनाको तालिम हाल चलिरहेको र यसपछि पर्साको पर्सागढी नगरपालिकामा २० जना र सर्लाहीको बागमती नगरपालिकामा २० जनाको विल्डिङ्ग इलेक्ट्रिसियन र नेपाली कुजन कुकको तालिम दिने तयारी रहेको उनले बताए ।
हरेक दिन दैनिक न्यूनतम ६ घण्टा ३० मिनेट दिइने तालिममा ५ घण्टा ३० मिनेट व्यवहारिक र १ घण्टा सैद्धान्तिक प्रशिक्षण एक महिनासम्म नि:शुल्क दिइने र तालिममा सहभागी पुरुषहरुको लागि प्रतिदिन ४ सय ५० का दरले एक महिनाको १३ हजार पाँच सय र महिलाहरुका लागि प्रतिदिन ५ सय ५० का दरले १६ हजार ५ सय यातायात खर्चसमेत उपलब्ध गराइने कार्यकारी निर्देशक श्रीवास्तवले बताए ।
तालिम पश्चात राष्ट्रिय सीप परीक्षण समितिबाट नि:शुल्क सीप परीक्षण गरिनुको साथै तालिम पश्चात स्वरोजगार वा श्रम बजारमा रोजगारीमा जानका लागि ८ हजार २ सयदेखि ९ हजार २ सयसम्मको आधारभूत पेशागत औजार र उपकरणका लागि नगद बैंकमार्फत दिनेछ ।

प्रतिक्रिया दिनुहोस्