३० भदौदेखि अवैध रुपमा भित्र्याएका मोबाइल नचल्ने «

३० भदौदेखि अवैध रुपमा भित्र्याएका मोबाइल नचल्ने

नेपालमा ३० भदौदेखि अवैध रुपमा भित्र्याइएका मोबाइल नचल्ने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (एमडिएमएस) को संयुक्त कार्यशाला गोष्ठीले सो निर्णय गरेको हो ।
नेपालमा गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो ३० भदौदेखि एमडिएमएस सुरू गर्ने निर्णय गरेको हो । एमडिएमएस प्रणाली अनधिकृत रूपमा मोबाइल फोनहरू नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।
मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय वस्तुको रूपमा मोबाइल फोन मानिएकाले तर हाल पछिल्लो समय सरकारले मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दु:ख व्यक्त गर्दै सरकारको सो कार्यप्रति आपत्ति जनाएका छन् ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्देश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजेपनि गैरकानुनी मार्गबाट भन्सार छलीका फोनहरू लाखौंको संख्यामा भित्रिँदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अर्बौ राजस्वसमेत गुमाउनु परेको तथ्यलाई समेत उनले प्रष्ट पारे ।
गैरकानुनी रूपमा भित्रिने फोनहरूमध्ये चोरीका, रिफर्बिस फोनहरू समेत आउने हुँदा एकातिर आम उपभोक्ता ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौतीसम्म गर्नुपर्ने वाध्यताले हजारौंको संख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको तथ्य प्रष्ट गरे ।
मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेकाले एमडिएमएस लागू गर्न अब ढिला गर्न नहुनेमा अध्यक्ष मलहोत्राले जोड दिए ।
एमपिआइएका उपाध्यक्ष सञ्जय अग्रवालले ३० भदौदेखि औपचारिक रूपमा एमडिएमएस लागू हुने बताए ।

प्रतिक्रिया दिनुहोस्