कृषि र भेटेरीनरी सम्बन्धी वार्षिक कार्यक्रम सार्वजनिक «

कृषि र भेटेरीनरी सम्बन्धी वार्षिक कार्यक्रम सार्वजनिक

कृषि ज्ञान केन्द्र लमजुङ र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । दुवै कार्यालयले संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७९/०८० का कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराएका हुन् ।
कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शिर्षकमा पाँच करोड ४१ लाख ६९ हजार रुपैयाँँ बराबरको कार्यक्रमहरु रहेका छन् । विनियोजित रकममध्ये २१ लाख २५ हजार रुपैयाँ पुँजीगत खर्च रहेको छ भने पाँच करोड २१ लाख ४४ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कृषि प्रवद्र्धन, भौतिक संरचना निर्माण, विशेष बाली प्रवद्र्धन, कृषि प्रयोगशाला, अनुदान, तालिम तथा परामर्श लगायतका कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताए ।
त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शिर्षकमा पाँच करोड ८८ लाख ४४ हजार रुपैयाँ बराबरका कार्यक्रम रहेको जनाएको छ । विनियोजित रकममध्ये एक करोड २६ लाख रुपैयाँ पुँजीगत खर्च रहेको छ भने चार करोड ६२ लाख ७४ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ ।
चालु आर्थिक वर्षका लागि पशु पूर्ण खोप कार्यक्रम, पशुपंक्षी व्यवसाय प्रवद्र्धन, पशु स्वास्थ्य, पशु आहारा प्रवद्र्धन, पशु प्रजनन तथा नश्ल सुधार, मत्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षमता अभिवृद्धिलगायतका कार्यक्रम रहेको कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यक्रम समीक्षासँगै चालु आर्थिक वर्षका कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि सुझाव समेत संकलन भएको थियो । सहभागीबाट प्राप्त सुझाव प्राथमिकताका साथ कार्यान्वयन गरीने कार्यालय प्रमुखहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्