जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।
वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा ७ करोड १७ लाख ८८ हजार बढी राजस्व उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत डिलाराम सापकोटाले बताए ।
उनले भने, “गत आवमा राजस्व संकलनको बार्षिक लक्ष्य ३३ करोड ९ लाख ३६ हजार बराबर थियो । तर असार मसान्तसम्मको रेडर्क अनुसार ७ करोड १७ लाख ८८ हजारले बढेर कुल ४० करोड २७ लाख २४ हजार राजस्व उठेको छ ।
जसमा आयकरतर्फ २४ करोड ३८ लाख ३९ हजार, मूल्य अभिवृद्धि करतर्फ १३ करोड ६३ लाख ४३ हजार राजस्व संकलन भएको छ । त्यस्तै, अन्त:शुल्क शिर्षकमा ७५ लाख १६ हजार, बहाल कर १० लाख ४ हजार र ब्याज कर ४ लाख ६० हजार ३ सय गरी ४० करोड भन्दा बढी राजस्व संकलन भएको कर अधिकृत सापकोटाले जानकारी दिए ।
उनका अनुसार आयकर र मूल्य अभिवृद्धि करमा लक्ष्य भन्दा बढी राजस्व उठेको हो । आयकरतर्फ १८ करोड ८० लाख १४ हजार राजस्व संकलनको लक्ष्य राखिएकोमा २४ करोड ३८ लाख ३९ हजार अर्थात ५ करोड ५८ लाख २५ हजार राजस्व संकलन भएको छ ।
त्यस्तै, मूल्यअभिवृद्धि करतर्फ १२ करोड ४८ लाख ९४ हजार संकलनको लक्ष्य राखिएकोमा १३ करोड ६३ लाख ४३ हजार अर्थात १ करोड १४ लाख ४९ हजार रुपैयाँ राजस्व उठेको छ । कार्यालयका अनुसार हालसम्म जुम्ला कालिकोट र मुगुका गरी करदाता संख्या २५ हजार बढी पुगेको छ । जसमा १३ हजार व्यवसायी प्यान दर्ता भएको छ भने १२ हजार व्यक्तिगत प्यान दर्ता भएका छन् ।
चालु आवमा आन्तरिक राजस्व कार्यालय जुम्लाले ४७ करोड ५६ लाख ८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पछिल्लो समय बढ्दै गएको करदाता शिक्षा, असुली सक्रियतालगायत कारणले राजस्व संकलन बढ्ने गरेको छ ।