इजरायलले कृषि क्षेत्रमा पनि थप एक हजार नेपाली लैजाने «

इजरायलले कृषि क्षेत्रमा पनि थप एक हजार नेपाली लैजाने

इजरायलले हाल नेपालबाट एक हजार केयरगिभर लैजाने क्रम जारी राखीरहेका बेला कृषि क्षेत्रमा समेत थप एक हजार नेपाली लैजाने भएको छ ।
नेपालबाट एक हजार भन्दा बढी केयरगिभर माग गरिसकेको इजरायलले पछिल्लो समय नेपालबाट कृषि क्षेत्रका लागिसमेत श्रमिक लैजाने भएको हो । हाल इजरायलको विभिन्न कृषि उद्योगमा धेरै नेपाली कार्यरत रहेका छन । यस अघि केयरगिभरमा माग गरिएका मध्ये ७०० नेपाली इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ ।
सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच भएको भेटवार्तामा राजदूत गोदेरले कृषि क्षेत्रमा समेत नेपालीलाई लैजाने तयारी भएको बताए । सो भेटघाटमा राजदूत गोदेर र मन्त्री कुँवरबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफलसमेत भएको छ ।
छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।
भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका रोजगारीका अवसरसहित अन्य प्रकारका सहयोगका लागि धन्यवाद दिएका थिए । साथै मन्त्री कुँवरले आगामी दिनमा इजराय सरकारले नेपालका कृषि, पर्यटन, उद्योगलगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए ।
मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुन: एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गरेको छ । अहिले धेरै भन्दा धेरै नेपालीले रोजगारीका लागि इजरायल जान चाहेकाले छिटो लैजाने वातावरण बनाइ दिन राजदूत गोदेरलाई अनुरोध गरिएको छ ।
यसअघि श्रम मन्त्रालयले इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्य समूहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने प्रयोजनका लागि इजरायलले यसअघि नै द्विपक्षीय वार्ता र छलफलका लागि वार्ता टोली गठन गरिसकेको छ । टोलीले निर्माण क्षेत्रमा माग गरिएको श्रमिक संख्या, न्यूनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिकजस्ता विषयमा इजरायली टोलीसँग छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्