आरान पेसा नै आम्दानीको श्रोत «

आरान पेसा नै आम्दानीको श्रोत

उमेरले ६७ वर्ष पुगे तेह्रथुम छथर गाउँपालिका ६ सुदापका नृर्पेन्द्र शंखर । उनी बिहान सबेरैदेखि साँझ अबेरसम्म आरनमै भेटिन्छन्् ।
सानैदेखि आरन पेसा रोजेका उनी ढल्कँदो उमेर भएपनि आफ्नो कर्मलाई निरन्तरता दिँदै आएका छन्् । धेरै युवाहरुले गाउँ छाडे । कोही रोजगार बने कोही भौंतारी रहेका छन्् । रोजगारको खोजीमा देश विदेश नै पुगे तर उनी आफ्नै पेशामा रमाइ रहेका छन् ।
उनी र उनका छोराहरु एउटै आरनमा विभिन्न सामग्री बनाउँदै आएका छन् । १३ वर्षको उमेरदेखि यो पेशा अंगालेका नृर्पेन्द्र अझै यही पेसामा रमाइ रहेका भेटिन्छन्् । दशक अघिसम्म बालीघरे काम गर्दै आएका उनी यतिबेला ज्यालामा मात्रै काम गर्दै आएका छन् । “बालिघरे काम गर्दा ५ पाथी अन्नमा गर्नु पथ्र्याे त्यो पनि दिन गाह्रो मान्थे, काम भने गराउँथे तर,अहिले बालिघरको काम छोडेर ज्यालमा काम गर्दै आएको छु” उनले भने । यो पेशाबाट उनलाई परिवार चलाउन सहज बन्दै आएको छ । घर खर्च र पेट पाल्नका लागि उनलाई समस्या छैन । उनी भन्छन््, “हामीले गरेको श्रमको मूल्य पाएका छौं तर बजारको भने समस्या छ हामीले उत्पादन गरेको सामग्री बिक्री गर्न राम्रो बजार पाउने हो भने युवाहरु रोजगारका लागि भौंतारिनु पर्ने अवस्था छैन ।” उनले उत्पादन गरेको सामग्रीहरु स्थानीय बजारमै बिक्री गर्दै आएका छन् ।
उनले मासिक २५ देखि ३० हजार आम्दानी गर्दै आएका छन् । यही सामान बिक्रीबाट आएको आम्दानीले नै परिवारको घरखर्च टर्दै आएको छ । उनी जस्तै छथर गाउँपालिका १ आङदिमका इन्द्रबहादुर विक पनि विगत ४० वर्षदेखि आरन पेसा गर्दै आएका छन् । उनको आम्दानीको श्रोत पनि आरन बनेको छ । आरनबाटै विकले २० लाख बराबरको जेथो जोडेका छन् । समयसँगै घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमको सहयोगमा आधुनिक प्रविधि जडान गरी उनले पेसालाई अझ व्यवसायिक बनाउँदै गएका छन् । विकले मासिक ३० देखि ४० हजारसम्म आम्दानी लिँदै आएका छन् । उनी भन्छन््, “हातमा सीप भयो भने परिवार धान्नकै लागि भौंतारीनु पर्दैन, घरमै बसेर पनि आम्दानी लिन सकिन्छ । युवाहरु रोजगारको खोजीमा विभिन्न मुलुकमा पुग्छन्् तर मैले घरमै परिवारसँग रमाउँदै राम्रै आम्दानी लिँदै आएको छु ।” पछिल्लो समय आरन पेसामा युवाहरुको आकर्षण घट्दै गएको बेला उनले यही पेशाबाट वर्षेनि लाखौं आम्दानी लिँदै आएका छन् ।
आफ्नो पेसालाई व्यवसायिक बनाउँदै लैजाने हो भने रोजीरोटीका लागि भौंतारीनु पर्दैन भन्ने कुरामा ढुक्क छन् शंंकर र विक । विगतमा बालिघरे काम गर्दै आएका आरन व्यवसायी पछिल्लो समय भने बालिघरे कामलाई छाड्दै गएका छन् ।
वर्ष दिनमा एक पटक मात्रै बालि पाउने गरेको र श्रम, मेहनत पनि नआउने गरेकाले बालिघरे काम छाड्दै गएको आरन व्यवसायीहरु बताउँछन् । नृर्पेन्द्र र इन्द्र जस्तै यहाँका युवा आरन पेशाबाटै परिवार धान्दै आएका छन् । खुकुरी, कोदालो, हँसिया, कुटोलगायतका विभिन्न कृषि औजार उत्पादन हुँदै आएका छन् । तेह्रथुको ओख्रे, सदरमुकाम म्याङलुङ, बसन्तपुर, शुक्रबारे तथा धनकुटाको सिधुवा र संखुवासभाको खाँदबारीलगायतका स्थानमा यहाँ उत्पादन भएका सामग्री बिक्री हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्