गणपूरक संख्या नपुगेकोमा सभामुखको असन्तुष्टि «

गणपूरक संख्या नपुगेकोमा सभामुखको असन्तुष्टि

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति: अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।
पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरुको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । सभामुख सापकोटाले संसद्लाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसद्लाई अफ्ठ्यारो भइरहेको बताए । उनले संसद्मा विधेयक पास गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताए ।
सभामुख सापकोटाले समितिमा दोहोरोपन देखिएको बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए । उनले देशको धरातलीय यथार्थअनुकूल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेकोमा जोड दिए । सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने उनले बताए ।
सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताए । उनले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए । सभामुख सापकोटाले अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्