पर्यावरण संरक्षणका उपाय «

पर्यावरण संरक्षणका उपाय

पर्यावरणमा विद्यमान असन्तुलनले यस धरतीका सम्पूर्ण प्राणी तथा वनस्पतिका क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्छ । त्यसैले विभिन्न प्राणी तथा वनस्पतिको अस्तित्वका लागि पर्यावरणको धेरै महत्व छ ।
वस्तुत: मानव जातिको सुख–समृद्धिका लागि आर्थिक तथा सामाजिक विकासको जेजति महत्व छ त्योभन्दा बढी पर्यावरणको महत्व छ, किनभने यसको संरक्षणबाट मानव जाति, वनस्पति र पशुपन्छीको संरक्षण भई आन्तरिक पर्यटनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न सकिन्छ ।
आजकाल मानिसहरूले आफ्ना आवश्यकताहरू परिपूर्तिका लागि विभिन्न क्रियाकलाप गरिरहेका छन्, जसले गर्दा जैविक वस्तुहरूको प्रचुर मात्रामा नाश भई विभिन्न समस्याहरू झेल्नुपरेको छ । यी क्रियाकलापहरूले गर्दा विभिन्न किसिमका उत्पादन तथा उपयोगमा पनि नकारात्मक प्रभाव परेको छ ।
विगतमा धेरैजसो मानिसको अज्ञानता र केहीको बेवास्ताका कारण वर्तमान समयमा पर्यावरणलाई अति महत्वपूर्ण सोचका साथ जोगाउनुपर्ने भएको छ । साँच्चै भन्ने हो भने आज प्रत्येक देशका योजनाकार एवं नीति निर्माताहरूले कुनै विकास कार्यहरू सञ्चालन गर्नुअघि यिनीहरूले पर्यावरणमा पार्ने प्रभावको अध्ययन गरेर मात्र निर्णय लिनु वाञ्छनीय देखिन्छ । अन्यथा भविष्यमा पर्यावरणको थप विनाश भई प्रत्येकको जीवनमा नकारात्मक प्रभाव पर्नेछ ।
आजसम्म पनि धेरैजसोले पर्यावरणको महत्व राम्ररी बुझेका छैनन् । त्यसैले आगामी दिनहरूमा कुनै पनि विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा पर्यावरणसम्बन्धी कुराहरू पनि समावेश गर्नु सान्दर्भिक देखिन्छ । यसो गर्न सकेमा यहाँका धेरै व्यक्तिलाई पर्यावरणसम्बन्धी ज्ञान हुनेछ । जसको फलस्वरूप यहाँका जैविक वस्तु संरक्षणका लागि उच्च तथा चिरस्थायी गुणस्तरीय जीवनयापन गर्न सघाउ पुग्नेछ ।
नेपालजस्तो अति कम विकसित देशमा खाद्यान्न सङ्कटबाट ग्रस्त व्यक्तिहरूको संख्या दिन–प्रतिदिन बढिरहेको छ । हाल खेतीपातीको उत्पादनले मात्र सबैलाई आवश्यक खाद्यान्न परिपूर्ति गर्न नसकिने हुँदा प्रत्येक वनजङ्गलमा पाइने कन्दमूल, फलफूल आदि खाएर पनि जीवन रक्षा गर्न सकिन्छ । यसका लागि पर्यावरण संरक्षणको आवश्यकता छ ।
आजकाल विश्वका धेरै देशमा जैविक विविधता निरन्तर रूपले नाश भइरहेको छ । वास्तवमा मानव जाति एवं पशुपन्छीको संरक्षणका लागि यसको सुरक्षा गर्नु नितान्त आवश्यक छ ।
पर्यावरण संरक्षणमा सिमसारको महत्वपूर्ण भूमिका हुन्छ । यसले पानी सञ्चय, बाढी नियन्त्रण, भूमिगत पानीको पुन: प्रवाह, निकास तथा शुद्धीकरण, खनिज तलहरूको शोषण र माटोको सञ्चय मात्र नगरी स्थानीय हावापानीमा पनि सकारात्मक प्रभाव पार्छ ।
नेपालमा वातावरण विनाशको कारण यहाँका सिमसार क्षेत्रहरू सङ्कटमा परेका छन् । यिनीहरूलाई कतै खेत, कतै घडेरी र कतै माछा पोखरीमा सीमित गरिएका छन् ।
एकातिर यहाँका सिमसार क्षेत्रहरू बढ्दो प्रदूषणले ग्रस्त छन् भने अर्कातिर यिनीहरूको विभिन्न प्रयोजन गर्न थालेपछि बिस्तारै लोप हुन थालेका छन् । योबाहेक भूमि अतिक्रमण, बाढी, पहिरो र भूक्षयजस्ता दैवी प्रकोपले पनि यिनीहरूको संरक्षणमा नकारात्मक प्रभाव परेको छ । यही कारणले यहाँको पर्यावरण संरक्षणका लागि यिनीहरूको पनि संरक्षण गर्नु जरुरी छ । यसका लागि सरकारी, गैरसरकारी र स्थानीय जनता एकजुट भई आवश्यक कामहरू यथाशीघ्र सञ्चालन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्