खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग «

खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय बिलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कम गर्न सोलार प्यानल जडान गरिएको बताए । खानेपानीमा सहज पहुँच पुर्‍याउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने मन्त्री रानाले बताए ।
तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत गडबढी र कालिगण्डकीको योजना ढिलाइ हुँदा पनि खानेपानीको अभाव भएको बताए । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नागरिकलाई खानेपानी सहज ढंगले वितरण गर्ने अवस्था मिलाउन तानसेन खानेपानी उपभोक्ता समिति सक्रिय हुनुपर्ने बताए । नागरिकले सहजरूपमा खानेपानी नपाउने अवस्थाको अन्त्य गर्नुका साथै विद्युतको बिल घटाउन पनि वैकल्पिक ऊर्जाले सहयोग पुग्ने उनी बताउँछन् ।
मन्त्री राना र नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, बेलायती राजदूतावासका प्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण गरी सोलार प्यानलको थप सम्भाव्यताबारे छलफल गरेको हो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले अहिलेको वितरण प्रणालीलाई समेत वैज्ञानिक ढंगले अघि नबढाउँदासम्म सधैं अभाव झेल्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजेन्द्र विकले वर्षायाममा समेत सातदेखि १० दिनमा घरको धारामा पानी आउने भएकाले नागरिलाई सहज ढंगले खानेपानी वितरणका लागि सबैको सहयोग हुनुपर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि तथा पूर्वसांसद यादवबहादुर रायमाझी तानसेनमा प्रतापशमशेरका पालादेखि नै पानीको दु:ख रहेको इतिहास रहेकाले नागरिकले अहिलेसम्म पनि पानीकै झमेला बेहोर्नु परेको बताए । तानसेनको खानेपानी महँगो भएकाले यसको बिलिङ घटाउन नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनसके फाइदा पुग्नेछ । जिल्लाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रमा समेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको छ । यसैगरी बतासेडाँडामा सोलारबाट १ सय ९ किलोवाट बिजुली निकाल्नका लागि अध्ययन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्