Logo

प्रभावकारी बन्दै बजार अनुगमन

तेह्रथुम जिल्ला सदरमुकामलगायत बजार केन्द्रहरुमा केही समय अघिसम्म म्याद गुज्रिएका सामग्री यत्रतत्र पाइने गरेको थियो । बजार अनुगमन नहुनु ग्राहकले म्याद गुज्रेको वस्तुमा ध्यान नपुर्‍याउँदा व्यवसायीले फाइदा लिने गरेका थिए ।
तर, पछिल्लो समय जिल्ला प्रशासन तेह्रथुमको नेतृत्वमा बजारको नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरु न्युनिकरण हुँदै गएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बुले बताए ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमन प्रभावकारी बन्न थालेको हो । नियमित रुपमा बजार अनुगमन हुन थालेपछि व्यवसायीले म्याद गुज्रेको वस्तुलाई व्यवस्थापन गर्न गरेका छन् ।
बजार केन्द्रहरुमा नियमित अनुगमनलाई निरन्तरता दिँदै जाने हो भने व्यवसायी र ग्राहकसमेत सचेत बन्दै जाने व्यवसायी चुडामणी जोशीले बताए । उनी भन्छन्, “बजारलाई सकेसम्म मासिक रुपमा अनुगमन गर्न आवश्यक छ । हामी व्यवसायीहरुले पनि म्याद गुज्रेका सामान बिक्री गर्दैनौं भने ग्राहकले पनि खाद्य वस्तु मात्रै पाउनेछन् ।”
अघिल्लो अनुगमनमा पाइएको प्रतिवेदनको आधारमा पछिल्लो समय सुधार हुँदै गएको हो । लामो समयसम्म अनुगमन नभएका फेन्सी तथा हार्डवयेर पसलहरुमा म्याद सकिएका वस्तुहरु भेटिएको टोलीले जनाएको छ । उद्योगी व्यवसायीले सामान लिँदा म्याद हेरेर लिन सचेत बन्दै जाने हो भने सुधारमा टेवा पुग्ने छ ।
अनुमगनलाई प्रभावकारी बनाउन नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै उद्योगी व्यवसायीलाई सल्लाह र परामर्श दिँदै आएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताए । जिल्ला सदरमुकाम म्याङलुङ, जिरीखिम्ति बजार, लसुने, बसन्तपुर बजार, छथर शुक्रबारे, पोक्लाबाङ बजार, मोराहाङ बजार, आठराई संग्रान्तिलगायतका बजार र केन्द्रहरुमा अनुगमन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्