कर्णाली करिडोर अन्तर्गतको सलिसल्लामा बेलिब्रिज बनाउन ध्यानाकर्षण «

कर्णाली करिडोर अन्तर्गतको सलिसल्लामा बेलिब्रिज बनाउन ध्यानाकर्षण

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोर अन्तर्गतको सलिसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भए पनि हालसम्म बन्न नसकेको बताए । उनले सरकारको निकायहरूले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताउनु भयो । सांसद शाहीले जुम्लाका जनताहरूले एम्बुलेन्स चढ्न नपाउन् र बाँदर हिँड्ने बाटोमै हिँड्न भन्ने सरकारले उद्देश्य राखेको जिकिर गरे । उनले भने, ‘कर्णाली करिडोरको सलीसल्ला भन्ने ठाउँमा एउटा बेलिब्रिज बनाउनका लागि ३ वर्ष म सिंहदरबार धाउँदा धाउँदा हरेक नियम, कानुन लागू हुन थाले । आज बाटै नभएको ठाउँमा पुलहरू बनेका छन् । त्यसमा नियम, कानून केहीपनि लाग्दैन रे । एउटा हुम्ली जनताले एम्बुलेन्स चढ्न पाउँ । गाडी चढेर मेरो उपचार काठमाडौंका राम्रा अस्पतालमा उपचार होस् भन्नका लागि आज हुम्ली जनतामाथि, हुम्लाको विकास निर्माणका लागि आज हरेक नियम, कानून लगाइन्छ । मन्त्रीले सचिवलाई, सचिवले डिजीलाई, डिजीले आयोजना प्रमुखलाई अह्राउनुहुन्छ । आयोजना प्रमुखले पुच्छर हल्लाउँदै बसेका छन् । हुम्ली जनताले अझै पनि बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य त्यही हो ।’
उनले हुम्लामा हालसम्म सडक सञ्जाल नजोडिएको, आंगिक क्याम्पस नभएको, विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेको र सञ्चारको पहुँच नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्