रेमिट्यान्ससँगै १४ सय ७९ शव «

रेमिट्यान्ससँगै १४ सय ७९ शव

गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीबाट ९ खर्ब ८६ अर्ब रेमिट्यान्स भित्रिँदा १ हजार ४७९ नेपालीले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४७ महिलासहित १ हजार ४७९ नेपाली श्रमिकको मृत्यु भएको हो ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अघिल्ला आर्थिक वर्षहरुको तुलनामा गत आवमा मृत्यु हुने नेपालीको संख्या बढेको बताए । सरकारले श्रमस्वीकृति लिएर रोजगारीका क्रममा मृत्यु हुने श्रमिकका हकवालालाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता दिने गरेको छ । कार्यकारी निर्देशक श्रेष्ठले गत वैशाखसम्म मृतक श्रमिकका नजिकका आफन्तलाई ६३ करोडभन्दा बढी आर्थिक सहायता दिएको जानकारी दिए । यो अवधिमा विदेशमा अलपत्र परेका ५८ जना श्रमिकलाई कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गरिएको छ । वैदेशिक रोजगारमा संलग्न नेपाली श्रमिक तथा निजका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्नेे उद्धार, राहत, क्षतिपूर्ति लगायतका कल्याणकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउन वैदेशिक रोजगार कल्याणकारी व्यवस्थापन प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ स्वीकृत गरी कार्यान्वयनमा आएपछि आर्थिक सहायता लिने श्रमिकको संख्या समेत बढेको बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा कम मृत्युदर यूएईमा ०.२१ प्रतिशत, कतारमा ०.२४, प्रतिशत, साउदी अरबमा ०.३९ प्रतिशत र सबैभन्दा बढी मलेसिया ०.८३ प्रतिशत रहेको छ । विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिनेको संख्या बढ्दै गइरहेको बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आवसम्म श्रमस्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २९ महिला र १ हजार २१३ पुरुषसहित १ हजार २४३ जना नेपाली श्रमिकका नजिकको हकदारलाई वैदेशिक रोजगार बोर्डले ७३ करोड ७७ लाख १५ हजार आर्थिक सहायता प्रदान गरेको थियो । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले कोभिड–१९ संक्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने परिवारका सदस्यलाई बोर्डको निर्णयानुसार प्रतिपरिवार थप ५० हजार सान्त्वना राहत सहयोग पनि गरिएको जानकारी दिए । यसरी राहत सहयोगका लागि बोर्डले थप ४६ लाख प्रदान गरेको जनाएको छ ।
मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्च समेत वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्पmत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको छ । विगत वर्षदेखि नै निर्णय भएर रहेका श्रमिकका निवेदन बोर्डले पास गरेपछि सहयोग रकम पाउनेको संख्या बढेको हो । यसैगरी यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउने वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रमस्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि ७ लाख रुपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या बढेको बोर्डको भनाइ छ ।
आर्थिक वर्ष २०७६/०७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तले बोर्डबाट ७ लाख रुपैयाँको दरले आर्थिक सहायता दिएकोमा सो संख्या आव २०७७/०७८ मा वृद्धि भएर १ हजार २४२ पुगेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा विदेशमा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई काल्याणकारी कोषबाट ४१ करोड ८४ लाख रुपैयाँ आर्थिक सहयोग दिइएकोमा गत वर्ष यो रकम वृद्धि भएर ७३ करोड ७७ लाख रुपैयाँ पुगेको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्