संस्थानको ६ ट्रक मल वीरगन्ज महानगरको नियन्त्रणमा «

संस्थानको ६ ट्रक मल वीरगन्ज महानगरको नियन्त्रणमा

कृषि सामग्री संस्थानले वितरण गरेको मल वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लिएको छ । वीरगन्जका किसानले धान गोड्ने बेलामा वीरगन्जकै किसानले आवश्यक मल नपाएको गुनासो नगर प्रमुख राजेशमान सिंहलाई गरेपछि उनकै नेतृत्वमा ६ ट्रक मल नियन्त्रणमा लिएका हुन् ।
महानगरपालिकाबाट वीरगन्ज इनर्वास्थित कृषि सामग्री संस्थानको गोदाममा पुगेका नगर प्रमुख सिंहसहितको टोलीले पहिला वीरगन्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट मल लोड गरी सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, मकवानपुरतर्फ जान लागेका आधा दर्जन ट्रकलाई नियन्त्रणमा लिई महानगरपालिकाको कार्यालयमा लगेको हो ।
नगर प्रमुख सिंहले पर्साका किसानलाई प्राथमिकतामा राखेर तत्काल मल वितरण नगरे नियन्त्रणमा लिइएका ट्रकको मल महानगरपालिकाले नै किसानलाई उपलब्ध गराउने बताए । महानगरपालिकाले मल नपाएर छटपटाएका किसानलाई मल दिँदा कानुन उल्लंघन हुन्छ भने कानुनी लडाइँ लड्न आफू तयार रहेको बताए । वीरगन्जमा मात्रै अहिले ८ हजार टन मलको आवश्यकता रहेको बताउँदै कम्तीमा आवश्यकताअनुसारको मल उपलब्ध गराउनुपर्ने बताए ।
उनले भने, “वीरगन्जबाटै मल जाने तर वीरगन्जका किसानले मल नपाउने यो कहाँसम्मको न्यायोचित हो ? दैनिक ५० देखि १ सय गाडी गोदामबाट निस्किन्छ । अनि वीरगन्जका किसानले चाहिँ धूलो मात्रै खाने ? सरकारले त्यसको व्यवस्था गरोस्, वीरगन्जका किसानले मल पाउनुपर्छ । वीरगन्ज महानगरपालिकालाई आवश्यक ८ हजार मेट्रिक टन माग गरेका छौं । ८ सय मेट्रिक टन दिएर पुग्छ । हामीले कमसेकम सरकारले चाहे बफर स्टकबाट देओस्, चाहे कहीँबाट देओस् वीरगन्जका किसानले मल पाउनुपर्छ ।”
उनले थपे, “सरकारले राम्रो नीति ल्याउनुपर्‍यो । वीरगन्जबाट मलको गाडी निस्किरहने किसानले चाहिँ हेरिरहने त्यो समस्याको समाधान हो ? कम्तीमा सरकार सचेत होस । किसानलाई मल वितरण कसरी गर्ने भन्ने विषयमा जागरुकता होस् भनेर किसानको आग्रहमा मल नियन्त्रणमा लिएका हौं ।”
कृषि सामाग्री संस्थानको इनर्वाको भुटनदेवीस्थित गोदामका प्रमुख चन्द्र चौंलागाईंले कृषि सामग्री कम्पनीको निर्देशनअनुसार मल वितरण भइरहेको बताए । उनले पर्साका किसानलाई आइतबारबाट मल वितरण गर्ने तयारी गरिएको बताए ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले संघीय सरकारमा मधेसकै कृषि मन्त्री, मधेस प्रदेशमा आफ्नै सरकार, स्थानीय तहमा पनि आफ्नै सरकार भए पनि मधेसका किसानले मल नपाउनु दुर्भाग्य भएको बताए । उनले स्थानीय सरकारको हैसियतमा महानगरपालिकाले गरेको काम किसानको हितमा भएको बताए ।
महानगरपालिकाले मल नियन्त्रणमा लिएपछि देशभर देखिएको मलको समस्या समाधानका लागि कृषि मन्त्रालयमा आकस्मिक छलफल भएको छ । कृषि सामग्री कम्पनीका महानिर्देशक राजेन्द्र कार्कीले उत्पन्न समस्या समाधानका लागि मन्त्रालयमा छलफल गरिएको जानकारी गराएको वीरगन्ज महानगरपालिकाको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्