कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत «

कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत

सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरिएको हो ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदले गरेको उनले बताए ।
मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरूका लागि राजपत्रांकित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय पनि गरेको छ । विदशी नागरिक नासिम नाइनको नागरिकता खारेज गर्ने निर्णय पनि भएको छ । प्रवक्ता कार्कीले सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षती भएका भौगोलिक क्षेत्रलाई विपत शंकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको बताए । उनले पर्वत जिल्ला कुश्मा नगरपालिका ५ स्थित १३ रोपनी १५ आना जग्गा मध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गा मध्ये दुई रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्