‘तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छ’ «

‘तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले २/३ महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।
मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २/३ महिनामा नै सुधार गर्ने बताएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आइतबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे । प्रभाकरले नेपाली खेलाडीले आईपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए । विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरै भन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए ।
नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि धेरै जसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरु छन् । तर पछिल्लो समय टोली भित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनु पर्ने चुनौती छ । खेलाडीबीच गुट/उपगुट पनि टोलीको अर्को समस्या रहेको छ । यस्तै अवस्थामा कसरी अगाडि बढाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनैपनि परिवार भित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवार भित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने उनले बताए ।
अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ । खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरुका लागि सिकाई महत्वपूर्ण हुने प्रशिक्षकको बुझाइ छ । यस्तै उमेर समूहले छिटो सिक्ने र प्ररिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकरले व्यक्त गरे । प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामापछि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्