पोखरामा राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिता हुने «

पोखरामा राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिता हुने

पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता–२०७९ हुने भएको छ । देविज स्नुकर क्लबको आयोजनामा आउँदो भदौ १२ देखि १९ गतेसम्म पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा कास्कीबाट करिब ४८ जना सहित १ सय २८ जना सहभागि हुने भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए । उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, बागलुङ लगायत क्षेत्रबाट करिब ८० जना खेलाडीहरु सहभागि हुने भएका छन् । प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको संयोजक गुरुङले जनाए । सेमिफाइनलिष्ट दुई जना खेलाडीहरुलाई जनही १५ हजार १ सय ११ नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।
जिल्ला तथा राष्ट्रियस्तरबाटै विलियार्ड, स्नुकर खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामूहिक भावनाले अभिवृद्घि गराउने उद्देश्यले उक्त प्रतियोगिता पोखरामा गर्न लागिएको कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाहीले बताए । पोखरा आधुनिक विलियार्ड, स्नुकर खेल स्थल व्यवस्थित, मर्मत सम्हार, निर्माण साथै खेल क्षेत्रको विकासलाई अगाडि बढाउन उक्त प्रतियोगिताले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । प्रतियोगिता आयोजना गर्न १८ लाख २८ हजार खर्च हुने तथा २१ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको प्रतियोगिताका अर्थ संकलन संयोजक प्रदीप रसाइलीले बताए । पोखरा क्षेत्रमा करिब एक सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भए पनि र्‍याङ्किङमा पर्ने ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्