Logo

मुसिकोट दरबार क्षेत्रका भौतिक संरचना जीर्ण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार परिसरमा रहेका संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।
मुसिकोट डाँडा दरबार परिसरमा रहेका संरचना आवश्यक मर्मत संभार नगरिँदा अवलोकन गर्न जाने पर्यटकको संख्यामा समेत कमी आउन थालेको छ । रुकुम पश्चिमको सबैभन्दा बढी आन्तरिक पर्यटक जाने ठाउँ मुसिकोट दरबार क्षेत्र हो ।
तर पछिल्लो समय मुसिकोट डाँडा घुम्न आउने पर्यटकको संख्यामा कमी आउन थालेको छ । पर्यटकलाई आकर्षण गर्न दरबार क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचना लथालिंग हुँदा हेर्न आउने पर्यटकको संख्यामा कमी भएको हो । मुसिकोट डाँडा परिसरभित्र निर्माण गरिएका मुसीस्तम्भ र बालस्तम्भसँंगै विभिन्न जनावरका प्रतिमा टुटेफुटेको भए पनि लामो समयसम्म मर्मत संभार गरिएको छैन ।
भ्यू टावरको छानोसमेत हावाले उडाएको छ । मुसीडाँडा दरबार क्षेत्रको संरक्षणमा स्थानीय सरकारले आवश्यक ध्यान नदिएको स्थानीय आशा बुढाथोकीले बताइन् । मुसिकोट नगरपालिकाले भने दरबार क्षेत्रलाई पर्यटनमैत्री बनाउन गुरुयोजनाको अवधारणा अगाडि सार्ने बताएको छ । दरबार परिसरलाई आकर्षण पर्यटकीय गन्तव्यस्थल बनाउन भत्किएका संरचना पुनर्निर्माणसँंगै आवश्यक थप संरचना बनाइने मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको भनाइ छ ।
दुई हजार ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको मुसिकोट दरबार परिसर रुकुम पश्चिमको एक ऐतिहासिक पर्यटकीय क्षेत्र हो । बाइसे चौबिसे राज्य शासन सञ्चालनका क्रममा यस डाँडाबाट मुसिकोटे राजाले शासन गरेका थिए । जसबाट नै रुकुम पश्चिम सदरमुकामको नाम समेत मुसिकोट रहन गएको इतिहास छ । जिल्लाकै पहिचान भएको ऐतिहासिक पर्यटकीयस्थललाई थप व्यवस्थित बनाउन स्थानीय सरकार र सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्