शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री पौडेल «

शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने दाबी गरेका हुन् । उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिबद्ध रहेको बताए । उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताए । मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे । उनले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताए ।
उनले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताए । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकाले सेवासुविधा पाइन भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताए । उनले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए । उनले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिए पनि भित्री पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी गरे । मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताए । उनले पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको बताए । उनले अबबाट नै विद्यालय सुधारमा लाग्नुपर्ने बताए ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्यांकन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा बोर्ड रहेको बताए । उनले यसवर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीको नतिजा कम आएको र धेरै अनुत्तीर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताए । उनले नतिजा कमजोर आउनुको वास्तविक कारण पत्ता लगाउने कुरामा परीक्षा बोर्ड लाग्ने दाबी गरे ।
अध्यक्ष शर्माले प्रश्नपत्रलाई टेस्टेड प्रश्नपत्र बनाउन स्तरीकृत परीक्षा प्रणाली सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा १२ पछि विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताए । परीक्षा बोर्डले विद्यार्थी र शिक्षकको ग्रेडिङमात्रै मापन गर्ने नभई विद्यालयकै स्तर मापन गरिरहेको र सुधारका लागि योजना बनाउने काममा लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्