स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा «

स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।
महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गरे । उनले स्वास्थ्य बिमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बिमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताए ।
महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । उनले सरकारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्ने बताए ।
“नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदी घटाउन सकेनौं भने अवस्था गाह्रो छ” उनले भने, “सबैलाई बिमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्‍याउँछ कसरी ? हामीसँग पैसा कति छ ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौं भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौं ।”
उनले सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बिमा थेग्न नसक्ने बताए । महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको बताए । उनले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने बताए ।
महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताए । उनले स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्