श्रीकृष्ण जन्माष्टमी पर्व र धार्मिक महत्व «

श्रीकृष्ण जन्माष्टमी पर्व र धार्मिक महत्व

जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै दर्शनीय हुन्छ । मन्दिरहरूमा भगवत्प्र्रात मन रमाउने श्रृंगार, भक्तिभाव पुरुष र महिलाहरूले गरेको भगवत् कथाको प्रवचन, विशाल जुलुसहरू र कृष्ण भगवान्को जन्मसम्बन्धी नाटकहरूले यो पर्वलाई धार्मिक क्षेत्रमा मात्र सीमित नगरी साधारण जनतामा पनि प्रचलित बनाएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्गअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । श्रीकृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाहीं साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
प्राचीन इतिहासअनुसार अवतार धारण गरेर करुणा–वरुणालय भगवान् कृष्णले भारतको जमिनलाई कृतार्थ बनाउनुभएको थियो । असुरहरूको उत्पीडनले भयभीत भएका जनताको रक्षाका लागि, दानवहरूको पन्जामा फसेर वीभत्स भएको मानवताको उद्धारका लागि भगवान् कृष्णले वैकुण्ठको मोह त्यागेर कंसको कारागारमा बन्दी भएर अवतार धारण गर्नुभएको थियो । श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मानिन्छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथिका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत् गीताका रूपमा प्रचलित भएको छ । विशेष गरी महिलाहरू व्रत अर्थात् उपवास बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्छन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकाले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न यस पर्वले मद्दत पुर्‍याउनेछ । कृष्णजन्म अष्टमीको दिनमा कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए र मानवलाई सकारात्मक सोचका लागि थप ऊर्जा प्रदान गरेका थिए भन्ने शास्त्रमा उल्लेख गरिएको छ ।
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका वाणीबाट निस्केको पवित्र ग्रन्थलाई श्रीमद्भागवत् गीता भनिन्छ । यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा भगवान् श्रीकृष्णको धर्तीमा आउने र धर्मको उत्थान गर्ने भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यसलाई मनन गरी कृष्णाष्टमी पर्व मनाउँदै आइएको छ । साथै भगवान् श्रीकृष्णको बाल्यकालको बालसुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै पूजा–आराधना गर्ने प्रचलन रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्