अंकमा ठूलो बन्ने लहडमा अस्तित्व गुमाउँदै बैंक «

अंकमा ठूलो बन्ने लहडमा अस्तित्व गुमाउँदै बैंक

कोभिडको दबाब र प्रभावबाट तङ्ग्रिन नपाउँदै स्रोतको अभाव र अर्थतन्त्रमा वैदेशिक मुद्राको दबाबले बैंकहरू व्यवसाय खुम्च्याउन बाध्य भए । यसले नाफा प्रभावित हुने आकलनका बाबजुद आव २०७८/७९ को अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणले नाफामा सन्तोषजनक वृद्धि देखायो । दबाब र प्रोत्साहनसँगै ठूलो वासलातको लहडमा गाभ्ने/गाभिने प्रक्रियाले तीव्रता पाएको छ । नेपाल बंगलादेश बैंक गाभेर नबिल ग्राहक निक्षेप र कर्जामा ठूलो हुँदै गर्दा हिमालयन गाभेर ठूलो बैंक बन्ने नेपाल इन्भेस्टमेन्टको सपना तुसारापात भएसँगै मेगासँग गाभिएरै भए पनि ठूलै ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ बन्ने तरखरमा छ । अझै ठूलो बन्ने ग्लोबल आईएमईको लहडमा बैंक अफ काठमाडौंले साथ दिने सम्झौता गरेको छ । हिमालयनले पनि सिभिल गाभेर मध्यम आकारको बैंक बन्न खोज्दा प्रभुले सेञ्चुरी गाभ्ने सम्झौता गरेको छ । सबलभन्दा ठूलो बैंकको लहडले विगतका ३२ बैंकहरू २२ मा सीमित हुँदै छन् । धेरै चुक्ता पुँजी र ठूलो बैंक साँच्चै सबल भएर सिनर्जी र प्रतिफल दिन्छ कि ‘टु बिग टु फेल’सँगै नियन्त्रण र प्रणालीगत जोखिम निम्त्याउँछ समयले बताउला, तर लगानीकर्तासँगै नियामक र राज्य भने अब चनाखो हुनैपर्छ ।

चुक्ता पुँजी, सञ्चिति तथा जगेडा कोष
बैंकलाई चुक्ता पुँजीको भार बोकाउने क्रम जारी छ । नेपाल बंगलादेश बैंक गाभेर २२.८३ अर्बसहित चुक्ता पुँजीमा नबिल दोस्रो बन्यो । बैंकहरूको आव २०७७/०७८ मा ३१६.१६ अर्ब हाराहारी रहेको चुक्ता पुँजी २०७८/०७९ अन्त्यमा करिब ३५.५ अर्बले बढेर ३५१.६६ अर्ब पुगेको छ, जुन तेस्रो त्रैमासमा ३५६.३७ अर्ब थियो । औसत चुक्ता पुँजी बढेर १३.५३ अर्ब पुग्दा २३.८० अर्बसहित ग्लोबल आईएमई पहिलो र ९.०८ अर्बसहित सिभिल अन्तिममा छ ।
सञ्चित नाफा औसतमा २.१६ अर्ब देखिँदा सबैभन्दा बढी कृषि विकाससँग ३.९१ अर्ब र कम सेञ्चुरीसँग ०.९१ करोड मात्र छ । नेपाल इन्भेस्टमेन्टको सञ्चिति वितरणयोग्यभन्दा कम र सनराइजको सञ्चिति वितरणयोग्यभन्दा निकै बढी देखिन्छ । जगेडा कोषमा सबैभन्दा बढी नबिलसँग २६.३८ रुपैयाँ देखिँदा सेञ्चुरीसँग केवल १.७३ अर्ब र औसतमा ७.८४ अर्ब देखिन्छ । जगेडामा कुन कोषको कति रकम विस्तृतमा नखुलाइँदा सेयरधनीको वास्तविक सम्पत्तिमा केही अन्योल छ ।

पुँजी कोषको अवस्था
पुँजी कोषसम्बन्धी नियामकीय निर्देशनअनुसार आवको कुनै अवधिमा कायम गर्न नसकेको न्यूनतम पुँजी कोषको तोकिएको अनुपात सोही आवको अन्त्यमा कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा/वितरण गर्न पाइनेछैन । तोकिएको पुँजी कोष कायम नभए लाभांश रोक्का वा शीघ्र सुधारात्मक कारबाही हुन सक्ने मात्र होइन, कर्जा विस्तारमा समेत समस्या आउन सक्छ । हाल बैंकले भारित जोखिम सम्पत्ति (आरडब्लूए) को आधारमा प्राथमिक पुँजी कोष न्यूनतम ८.५ प्रतिशत र समग्रमा न्यूनतम ११ प्रतिशत पुँजी कोष कायम गर्नैपर्छ । नगद लाभांश बाँड्न पुँजी कोष १२ प्रतिशत हुनुपर्छ । विवरणमा कृषि विकासको सबैभन्दा बढी १६.३४ र कम हिमालयनको ११.६३, एभरेस्टको ११.९५ सहित औसतमा कायम १३.५६ प्रतिशतको पुँजी कोष छ । आव २०७८/७९ को पहिलो र दोस्रो त्रैमासमा नै न्यूनतम प्राथमिक पुँजी कोष कायम गर्न असफल माछापुच्छ«े र एनआईसी एसियाको लाभांश वितरण अनिश्चित छ । चैत मसान्तमा नै पनि लक्ष्मी, माछापुच्छ«े, एनआईसी एसिया र सिद्धार्थको प्राथमिक पुँजी कोष ९ प्रतिशतभन्दा कम छ ।

ग्राहक निक्षेप र कर्जा
बैंकमा ग्राहकबाट निक्षेप करिब ३७३.२० अर्बले बढेर कुल ४४ खर्ब ६२ अर्ब पुगेको छ । औसतमा एक बैंकले ग्राहकबाट १७१.६२ अर्ब रुपैयाँ निक्षेप पाउँदा सबैभन्दा बढी नबिलले ३२६.२२ अर्ब (७.३१ प्रतिशत) र स्ट्यान्डर्ड चार्टर्डले केवल ९३.७२ अर्ब (२.१ प्रतिशत) रुपैयाँ हाराहारी पायो ।
कोभिडबाट तङ्ग्रिँदै गर्दा गत आवमा कर्जा–लगानीयोग्य रकम र निक्षेप संकलनमा सुस्तताका बीच बैंकहरूले ग्राहक तर्फको कर्जा १३.८ प्रतिशत अर्थात् ४६२.६९ अर्ब रुपैयाँले विस्तार गरे, जबकि निक्षेप ९.१३ प्रतिशतले मात्र बढ्यो, जसले धेरैलाई तोकिएको निक्षेप–कर्जा अनुपात (सीडी) ९० कायम गर्नै हम्मे पर्‍यो । विवरणमा ग्राहकलाई सबैभन्दा बढी ३०१.०७ अर्ब रुपैयाँ नबिलले र स्ट्यान्डर्ड–चार्टर्डले केवल ७९.१७ अर्ब मात्र कर्जा प्रवाह गर्दा औसतमा १५३.८९ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ ।

नाफा, प्रतिसेयर आय र नेटवर्थ
नाफामा संकुचनको आकलनविपरीत बैंकहरूले गत आवमा करिब १५८.१५ अर्ब खुद ब्याज आम्दानी, १०६.७१ अर्ब सञ्चालन नाफा र ७४.८० अर्ब रुपैयाँ खुद नाफा कमाए । अझ एकीकृत कारोबारअगाडिको नेपाल बंगलादेशको नाफा अन्योलमा छ । औसतमा २.८८ अर्ब रुपैयाँ कमाएका बैंकमध्ये राष्ट्रिय वाणिज्यले ५.२१, ग्लोबल आईएमईले ५.२१ र नबिलले ४.९७ अर्ब रुपैयाँ कमाएर उम्दा बने भने उच्च वृद्धिका बावजुद १.३६ अर्ब कमाएर सेञ्चुरी अन्तिमै रह्यो । विवरणमा ‘प्रतिवेदन अवधि’को वा ओपनिङ ब्यालेन्स (अगाडि ल्याएको) जोडेर ‘कुल सञ्चिति’ वा डिबेन्चर रिडेम्पसनबाट फिर्ताको रकम पनि जोडेर ‘कुल उपलब्ध’ गरेर फरक–फरक तरिकाले वितरणयोग्य नाफाको गणना हुँदा वास्तविक रकममा अन्योल देखियो । बैंकहरूले कुल ५३.०६ अर्ब रुपैयाँ वितरणयोग्य नाफा भनेर देखाए ।
खुद नाफामा सुधारका बाबजुद बैंकहरूको औसत प्रतिसेयर आय (ईपीएस) धेरै बढेन । गत आवमा प्रतिसेयर एनआईसी एसियाले सबैभन्दा बढी ३९.१३ र कम लक्ष्मीले १३.८८ रुपैयाँ कमाउँदा बैंकहरूले औसतमा प्रतिसेयर २१.०५ कमाए । विवरणले प्रतिसेयर वितरणयोग्य नाफा (डीपीएस) सबैभन्दा बढी एभरेस्टको ४१.१५ र कम सनराइजको २.५३ रुपैयाँ देखाए पनि यसैलाई अन्तिम लाभांश क्षमता बुझ्नु गलत हुन सक्छ ।
बढ्दो चुक्ता पुँजीको भारले बैंकहरूको नेटवर्थ दुब्लाउँदो छ । बढी नेटवर्थ भएको नेपाल बैंकको २४८.४२, एभरेस्टको २३९.७१, नविलको २३०.३० अनि कम हुने सेञ्चुरीको १२७.६४ छ, औसत पनि १७३.०४ रुपैयाँ मात्र छ ।

मूल्य आम्दानी अनुपात (पीई)
चौथो त्रैमासमा ईपीएस बढेर सेयर मूल्य घट्दा सूचीकृत बैंकहरूको औसत पीई १४.४५ देखिन्छ । तर प्रत्येक कारोबार मूल्यसँगै परिवर्तनशील बजार पीईभन्दा औसत लागतको पीई महŒवपूर्ण हुन्छ । २०७९ साउन २६ को मूल्यमा बैंकको सेयर औसत १४.४ गुणा पीईमा कारोबार हुँदा नबिलको सबैभन्दा बढी ३६.४१ पीईमा र सनराइज कम ९.७४ पीईमा कारोबार भएको देखिन्छ ।

लाभांश क्षमता र लगानी निर्णय
विवरणको सञ्चित नाफा; नविलको गाभिएकोबाट प्राप्त पुँजी समायोजन कोष (स्वाप रकम) र सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट, बीओके र नेपाल एसबीआईको डिबेन्चर रिडेम्पसन कोषबाट फिर्ता हुन सक्ने रकम केलाएर तालिकामा प्रस्तुत ‘प्रतिसेयर बाँडफाँडलाई उपलब्ध रुपैयाँ’ अनुसार एभरेस्टसँग ४१.१५, नविलसँग ३९.९४ र एनआईसी एसियासँग ३३.२६ रुपैयाँ उपलब्ध देखिँदा सेञ्चुरीसँग ९.५४, लक्ष्मीसँग १०.८७ र सिभिलसँग ११.०९ मात्र उपलब्ध छ । यसमा सेयर प्रिमियम र अन्य बाँड्न मिल्ने रकम केलाएर अन्तिम लेखापरीक्षणबाट सेयरधनीलाई उपलब्ध भनी निर्धारित रकमले मात्र ‘वास्तविक रकम र लाभांश क्षमता’ निर्धारण हुन्छ । अपरिष्कृत वित्तीय विवरणले देखाएको वा लेखमा उल्लिखित वा विभिन्न आधारमा प्रक्षेपित लाभांश क्षमता केवल सन्दर्भ सामग्री हुनसक्छन् । लाभांशका आधारमा लगानी गर्दै गर्दा क) वास्तविक लाभांश क्षमता, ख) प्रक्षेपित र क्षमताभन्दा फरक दरमा लाभांश प्रस्ताव हुन सक्ने र ग) प्रस्तावित लाभांश पनि नियामकबाट परिमार्जन हुन सक्नेमा ध्यान दिनुपर्छ ।
बैंकहरूको अपरिष्कृत तथ्यांकले क) चुक्ता पुँजीमा ग्लोबल आईएमई; ख) नेपाल बंगलादेश गाभेर जगेडा कोष, ग्राहक निक्षेप र ग्राहक कर्जा–सापटीमा नबिल; ग) खुद नाफामा राष्ट्रिय वाणिज्य र ग्लोबल आईएमई, घ) सञ्चित नाफा, वितरणयोग्य नाफा र पुँजी कोषमा कृषि विकास, ङ) लाभांश क्षमतामा एभरेस्ट र च) नेटवर्थमा नेपाल बैंक पहिलो हुँदा धेरै सूचकमा सेञ्चुरी, ग्राहक निक्षेप र कर्जामा स्ट्यान्डर्ड चार्टर्ड र ईपीएसमा लक्ष्मी अन्तिम भए ।

प्रतिक्रिया दिनुहोस्