बस टर्मिनलको निर्माण अन्तिम चरणमा

विराटनगर–११ मा निर्माणाधीन बस टर्मिनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
वैशाखको पहिलो साताभित्रै निर्माण कार्य पूरा गरेर महानगरलाई हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले तीव्र रूपमा काम अगाडि बढाइरहेको छ । निर्माण कम्पनीका साइड इञ्चार्ज हरि गौतमले भवन निर्माणको काम सम्पन्न भइसकेको र अब बस टर्मिनलभित्र सडक र ५३ वटा बस तथा १८ वटा माइक्रोबस पार्किङस्थल निर्माणमा जुटेको बताए । आपूmहरूले महानगरस“ग सम्झौता गरेअनुसारको अन्तिम मितिभन्दा अगाडि नै निर्माण काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अगाडि बढाइरहेको गौतमको भनाइ छ । “जनप्रतिनिधि आएपछि दैनिकजसो काम हेर्न आउने र छिटो सकाउन दबाब दिइरहेकोले चाँडोभन्दा चाँडो निर्माण काम सम्पन्न गराउनेतिर आफुहरु लागेका छौं,” उनले भने ।
विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले एसियाली विकास बैंकको ऋण सहयोगमा ११ करोड ९८ लाखको लागत स्टिमेट रहेको बस टर्मिनल ८ करोड ४७ लाखमा ठेक्का लिएको गौरी पार्वती निर्माण सेवा काठमाडौंले अहिलेसम्ममा ६८ प्रतिशत काम सम्पन्न गरिसकेको बताए । “टर्मिनलभित्र सडक, गाडी पार्किङस्थल र गार्डेन निर्माणको केही काम बाँकी छ,” उनले भने, “निर्माण कम्पनीको काम गर्ने म्याद जेठसम्म रहेको तर वैशाखको सुरुमै सम्पन्न गर्ने गरी काम तीव्र गतिमा काम अगाडि बढाइरहेको छ ।”
बसपार्क नभएर यात्रुहरू सडकमा नै बस चढ्न बाध्य भएकोले दुर्घटनाको जोखिम उच्च छ । स्थानीय दिवानन्दन चौधरीले सडकमा बसेर गाडी चढ्नुपर्दा सवारी साधनले उडाएकोले धुलोले हैरान हुनुका साथै दुर्घटना हुने त्राससमेत रहने गरेको गुनासो पोखे । उनले भने, “बसपार्क निर्माण भएपछि व्यवस्थित रूपमा टिकट लिएर बस चढन पाइन्छ ।” सडक र ढल निर्माणको काम भइरहेको अवस्थामा सडकमा नै सवारीसाधन पार्किङ गर्दा ट्राफिक जामको समस्यासमेत अत्यधिक रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
महानगरका प्रमुख भीम पराजुलीले बस टर्मिनल निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरी काममा तीव्रता दिन निर्माण कम्पनीलाई आग्रह गर्दै आएको बताए । “बसपार्क नभएर सवारी चालकहरूका साथै यात्रुहरूलाई समेत समस्या भोग्न बाध्य छन्,” उनले भने, “त्यसैले चाँडोभन्दा चाँडो काम सम्पन्न गरेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई ताकेतासँगै दबाब दिइरहेका छौं ।” निर्माणका विषयमा हरेक १५ दिनमा प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्कीले निरीक्षण गर्ने गरेका छन् ।
३१ कठ्ठा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठा, पसल, होटललगायतका सुविधा उपलब्ध हुनेछ । “यो बसपार्कले विराटनगरको गौरव बढाउनेछ,” पराजुलीले भने । बसपार्कभित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा पनि हुनेछ । व्यवस्थित बसपार्क नहुँदा विशेष गरी वर्षायाममा यात्रुले सास्ती बेहोर्न बाध्य थिए । सामान्य पानी पर्दा पनि पिच नहुँदा बसपार्क हिलाम्मे हुने गरेको थियो । बसहरू भासिँदा यातायात मजदुरसमेत हैरानी बेहोर्न बाध्य थिए ।