ट्याक्टरका सबै आकारका टायर नेपालमै उत्पादन «

ट्याक्टरका सबै आकारका टायर नेपालमै उत्पादन

ग्रीन टायर्स प्रालिले हाते र कृषिमा प्रयोग हुने ट्याक्टरका लागि थप छ आकारका टायरको उत्पादन सुरू गरेको छ ।
ट्याक्टरमा प्रयोग हुने सबै प्रकारका टायर नेपालमै उत्पादन गर्ने उद्देश्यले कम्पनीले टायर उत्पादन सुरू गरेको हो । छ आकारका टायर थपिएसँगै अब कम्पनीसँग ११ आकारका ट्याक्टरका टायर हुनेछन् । यस अघि कम्पनीले पाँच आकारका टायर उत्पादन गर्दै आएको थियो ।
अब ट्याक्टरमा प्रयोग हुने टायर आयात गर्न नपर्ने कम्पनीका निर्देशक बिक्रम सिंघानीया बताउँछन् । उनका अनुसार यी टायर शेर्पा ब्राण्डको एग्रीकल्चर सेगमेन्ट अन्तर्गत भूमि र सारर्थी मोडलमा बजारमा आउने छन् । कम्पनीले यी टायर बिक्री गर्नका लागि छुट्टै डिलरसिपको पनि आह्वान गरेको छ ।
यस अघि कम्पनीले पुरानै वितरकमार्फत बिक्री वितरण गर्दै आएको थियो । यी टायरहरूमा बढी ट्रेक्सन र ग्रीप रहेको छ साथै बढी एनएसडी पनि छ । यी टायरको खरिदमा ग्राहकले पम्चर रेसिस्टेन्ट प्याच पाउने छन् । तीन महिना भित्र कम्पनीले ट्रलिमा लाग्ने टायरहरू पनि बजारमा ल्याउने तयारी गरिरहेको कम्पनीको भनाइ छ ।
४० करोड लगानीमा स्थापित यस उद्योगको वार्षिक उत्पादन क्षमता ३ लाख टायर छ। यसले तीन सय जनाभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ । आजभन्दा २५ वर्ष अघि डेल्टा डिस्ट्रिब्युटर प्राइभेट लिमिटेडमार्फत् बाहिरबाट टायर ल्याएर यहाँ बेच्न सुरू गरेका सिंघानियाले २०७६ सालबाट नेपालमै टायर उत्पादन सुरू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्