स्वास्थ्यचौकी भवनको शिलान्यास «

स्वास्थ्यचौकी भवनको शिलान्यास

अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ धातिवाङ्गमा बन्न लागेको स्वास्थ्यचौकी भवनको शिलन्यास भएको छ । गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले हिन्दुधर्म परम्पराअनुसार निर्माण हुन लागेको भवनको पूजा गरेर शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले मापदण्डसहितको भवन बनाउँन निर्माण व्यवसायीलाई निर्देशन दिए । गाउँपालिकामा प्राविधिक समस्याले बजेट पास हुन नसकेकाले कामकाजमा ढिलाइ भएको बताए । गाउँपालिकाका आधारभुत आवश्यकताहरु शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका आवश्यकता पूरा गरेर अगाडि बढ्ने बताए ।
पाणिनी गाउँपालिका–६ का वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलले वडामा भएका समस्याहरुलाई प्राथमितकतामा दिएर बजेट विनियोजन गरेको बताए । निर्माणहुन लागेको स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउन निर्माण व्यवसायीलाई आग्रह गर्दै स्वास्थ्य क्षेत्रको विकास महत्वपूर्ण रहेको पौडेलले बताए ।
पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेलको स्वागत तथा मित्रदेव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय मणिराम पौडेल, एमाले वडा सचिव प्रेमनारायण पौडेल, कांग्रेस वडा सचिव हुमनाथ पौडेल, पूर्ववडा अध्यक्ष शुभबहादुर सारुलगायतले मन्तव्य राखेका थिए । पण्डित चन्द्रमणि घिमिरेले धार्मिक विधिपूर्वक पूजा गराई भवन निमार्णको काम सुरुवात गरिएको छ । हाम्जा निर्माण सेवाले करिब ९९ लाख ८६ हजारमा ठेक्का लिएको स्वास्थ्यचौकी भवनको म्याद माघ २८ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्