मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणमा मन्त्रीको जोड «

मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणमा मन्त्रीको जोड

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पछिल्लो समय मानिस र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यसको नियन्त्रण तथा दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । “वन्यजन्तुका बासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्नुस्, मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउने योजना चाँडो लागू गरौँ,” उनले भने, “बाघको संख्या बढेको छ, वन्यजन्तु संरक्षणमा पुर्‍याएको योगदानप्रति म आभारी छु तर हामीले वन्यजन्तु बढायौं भनेर मात्रै खुसी हुने होइन, अब मानव र वन्यजन्तुबीचको द्वन्द्व कसरी न्यूूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले गम्भिर छलफल गर्नुपर्छ र कार्यक्रम छिटो कार्यान्वयनमा लानुपर्छ ।”
वन मन्त्रालयका कर्मचारी, मातहतका निकाय र विभागका कार्यक्रमले नेपालमा बाघको संख्यामा वृद्धि हुनुका साथै नेपालको वन क्षेत्र पनि जोगिएको भन्दै मन्त्री यादवले धन्यवाद समेत दिएका छन् । उनले वन क्षेत्र उपलब्ध गराउने विषय, वातावरणीय अध्यन सम्बन्धिका विषयहरुलाई अन्य सम्बन्धित मन्त्रालयहरुसँगको समन्वयमा छिटोछरितो गर्दै लैजान समेत निर्देशन दिए । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधानले वन तथा वातावरण मन्त्रालयले अघि सारेका पर्यावरण, वन जंगल, वन्यजन्तु र जलस्रोतको संरक्षण सहित विकासको मोडलका कार्यक्रमहरुलाई राष्ट्रिय योजना आयोगले पनि सहयोग गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्