पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा «

पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा

पछिल्लो ५ वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा बिजनेस भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडि छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक रहेका छन् । सन् २०१७ मा १ हजार ५ सय ७९, २०१८ मा १ हजार २ सय ८९, २०१९ मा २ हजार ७ सय १३, २०२० मा १ हजार ३ सय ७४ र २०२१ मा १ हजार ३ सय ४४ चिनियाँ नागरिकले बिजनेस भिसा लिएका छन् ।
चीनबाट भिसा आवेदनमात्र नभई यो अवधिमा सबैभन्दा बढी लगानी स्वीकृतसमेत भएको छ । विभागको तथ्यांकअनुसार चीनबाट पछिल्लो पाँच वर्षमा ४९ अर्ब ९० करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ । भारतीय नागरिकका लागि भने नेपालमा भिसाको आवश्यक पर्दैन । नेपालमा लगानी गर्नेमा पछिल्लो दशकमा चिनियाँपछि भारतीय रहेका छन् । यद्यपि, हालसम्मको कुल लगानीमा भने चीनभन्दा भारत नै अगाडि रहेको छ ।
नेपालका ठमेल, पोखरा लगायतका क्षेत्रमा चिनियाँको बाक्लो उपस्थिति रहेको छ । उनीहरूले चीन र नेपालबीच आयात–निर्यात व्यापारमा पनि मध्यस्थताको भूमिका खेल्ने र यसका लागि बिजनेस भिसा लिने गरेको पाइएको छ । विभागले भने वैदेशिक लगानीको प्रक्रिया पूरा गरेर आउने नागरिकलाई आफूहरूले भिसा सिफारिस गर्ने र परराष्ट्रबाट बिजनेस भिसा जारी हुने गरेको जनाएको छ ।
नेपाल चीन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ नेपालका साना मझौला व्यवसायमा चिनियाँहरूको रुची देखिएको र यस क्षेत्रमा उनीहरूको उपस्थिति बढेको बताउँछन् । उनका अनुसार बिजनेस भिसामा चिनियाँहरू अगाडि हुनुको मुख्य कारण पनि यही हो । चिनियाँ व्यवसायीले पछिल्ला वर्षहरूमा नेपाललाई पनि लगानीको गन्तव्य बनाउन लागेको र यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ ।

भिसासम्बन्धी के छ व्यवस्था ?
वैदेशिक लगानीकर्तालाई भिसासम्बन्धी नयाँ व्यवस्थाअनुसार नेपालमा १० करोड वा सोभन्दा बढी लगानी गर्ने र लगानीको २५ प्रतिशत रकम भित्र्याइसकेको अवस्थामा लगानीकर्ता वा प्रतिनिधि दुई जना व्यक्तिलाई व्यावसायिक भिसा उपलब्ध गराउने व्यवस्था छ ।
त्यस्तो भिसा लगानीकर्ताको दुई जना प्रतिनिधि र तीनका परिवारले पाउनेछन् । यस्तै नियमावलीमा वैदेशिक लगानीकर्तालाई आवासीय भिसाको पनि व्यवस्था गरिएको छ । १० लाख डलरभन्दा बढी रकम वा सोबराबरको परिवत्र्य मुद्रा विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिलाई र परिवारका सदस्यलाई यस्तो भिसा प्रदान गरिने उल्लेख छ । यस्तो लगानीको ५० प्रतिशत लगानी बराबरको लगानी स्वदेशमा कायम रहेसम्म ती व्यक्तिले आवासीय भिसा प्राप्त गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विदेशी लगानी ऐन कार्यान्वयन हुनुभन्दा अघि स्वीकृत भएको लगानीकर्ताको हकमा लगानी स्वीकृत हुँदाको बेला तोकिएको न्यूनतम रकमलाई न्यूनतम कुल लगानीयोग्य कायम गर्नु पर्नेछ । विदेशी लगानी स्वीकृत गर्ने निकायमै लगानीकर्ता र सम्बन्धित अधिकारीले भिसाको लागि आवेदन गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्