विदेशबाट फर्किएका युवालाई सिप तालिम «

विदेशबाट फर्किएका युवालाई सिप तालिम

सरकारले वैदेशिक रोजगारीकाट फर्केका श्रमिकलाई प्राथमिकतामा राखेर पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुन: एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी गरेपछि यो कार्यक्रम चालू आर्थिक वर्षबाटै सुरु गरिने भएको हो ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पुन: एकीकरण कार्यक्रमले विदेशबाट फर्केका श्रमिकको लागि मुख्य रुपमा सामाजिकीकरण, आर्थिक सशक्तीकरण र सीप तालिम कार्यक्रम सञ्चालन गरिने बताए । “चालू आर्थिक वर्षबाट वैदेशिक रोजगारीमा धेरै श्रमिक गएका ५० देखि १०० वटा स्थानीय तहमा पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ,” कार्यकारी निर्देशक श्रेष्ठले कारोबारसँग भने, “सीप तालिमसहित यसका लागि पहिलो चरणमा २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।” निर्देशिकाले कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सक्ने व्यवस्था गरेको भए पनि संघ, प्रदेश तथा स्थानीय तह र अन्तर्राष्ट्रिय गैरसरकारी ंस्थाले पनि पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा वृद्धि भएसँगै श्रम गन्तव्यमा समस्या पर्ने, बिरामी हुने, अंगभंग हुनेहरूको संख्या समेत वृद्धि हँुदै गइरहेकाले उनीहरुलाई समाजमा एकीकरण गरी स्वरोजगार बनाउने कार्यक्रमको लक्ष्य रहेको छ । स्वदेश फर्किएपछि आफ्नो समाज र परिवारमा स्थापित गराउन कुनै विधि, प्रक्रिया हुनुपर्छ भन्ने मान्यता अनुसार पुन: एकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको निर्देशक श्रेष्ठले प्रष्ट पारे । कोभिड–१९ संक्रमणका बेला ५ लाख ७२ हजार ५७१ नेपाली अलपत्र परेर स्वदेश फर्किएपछि कार्यक्रमको सान्दर्भिकता अझ बढेको श्रेष्ठले बताए । पुन: एकीकरण कार्यक्रम निर्देशिका जारी भएपछि बोर्डले एउटा प्याकेज नै तयार गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
सुरुवाती चरणमा वैदेशिक रोजगारीबाट असफल भएर फर्केका, आर्थिक–मानसिक हिसाबले समाज र परिवारमा स्थापित गर्न उद्यमशिलतामार्फत रोजगारी सिर्जना गर्ने निर्देशिकामा उल्लेख छ । पुन: एकीकरण कार्यक्रमले सामाजिकीकरण, आर्थिक सशक्तीकरण र तालिमलाई आधार बनाए पनि यसका लागि मनोपरामर्श सेवा, औषधी उपचार, सचेतना, महिला श्रमिकका समस्या सम्बोधन लगायतका सामाजिकीकरण कार्यक्रम रहेका छन् ।
कार्यक्रम सञ्चालनका लागि बोर्डले स्थानीय तहसँग वित्तीय साझेदारीका आधारमा पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्ने योजना नै बनाइसकेको जनाएको छ । यसका लागि बोर्डले स्थानीय तहहरूलाई अनुरोध गरेर ‘लेटर अफ इन्ट्रेस्ट’ अर्थात आशयपत्र पठाउन अनुरोध गर्ने भएको छ । बोर्डले कार्यक्रमको दायरा फराकिलो बनाउन आगामी वर्षमा उद्यमशिलता, सीप तालिम र वित्तीय साहयोगका लागि बैंक तथा वित्तीय संस्थासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । कार्यक्रम सञ्चालनका लागि दुई वटा संरचना तयार भएको छ । केन्द्रमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्व कार्यक्रम समन्वय समिति र पालिकामा उपमेयरको संयोजकत्वमा अर्को समिति बनाएर पुन: एकीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्