कृषि, शिक्षा र खस सभ्यता संरक्षणमा सिंजाको जोड «

कृषि, शिक्षा र खस सभ्यता संरक्षणमा सिंजाको जोड

नेपालको संविधानको धारा २९५ दफा (९३०) बमोजिम संघीयतापछि निर्माण भएका ७ सय ५३ वटा स्थानीय तहमध्ये जुम्लाको सिंजा गाउँपालिका एक हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सिंजा गाउँपालिकाले आफ्नो पाँचवर्षे कार्यकालमा विभिन्न कार्यसम्पादन गरेको छ । वैशाख ३० गतेको स्थानीय तहको दोस्रो निर्वाचनबाट सिंजाका ६ वटा वडादेखि गाउँपालिकाले नयाँ जनप्रतिनिधि पाइसकेको छ । यस गाउँपालिकाको पश्चिममा हिमा गाउँपालिका, पूर्वमा कनकासुन्दरी गाउँपालिका, उत्तरमा मुगु जिल्ला र दक्षिणमा तातोपानी गाउँपालिका अवस्थित रहेका छन् । गाउँपालिका केन्द्र सिंजाको नराकोट तोकिएको छ ।
सिंजा गाउँपालिकाले शिक्षाको विकासलाई पहिलो प्राथमिकता दिएको छ । चेतना विकासबिना समाज रूपान्तरण, आर्थिक समृद्धि, रोजगारी सिर्जना असम्भव भएकाले शिक्षामा पहिलो प्राथमिकता दिइएको हो । चालू आवका सम्पूर्ण नीति तथा कार्यक्रम शिक्षा केन्द्रित हुनेछन् । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल भन्छन्, “सिंजाले कृषि र शिक्षा, श्रम र शिक्षा, प्राविधिक शिक्षा, रोजगारी र शिक्षा, जीवन र शिक्षालाई जोडेर शैक्षिक क्षेत्रको विकास गर्नेछ । शैक्षिक क्षेत्रको विकास लागि हार्डवेयर तथा सफ्टवेयरका क्षेत्रको उल्लेखनीय विकास गर्छांै ।”
साथै सिंजा गाउँपालिकामा रहेका २२ वटा विद्यालयलाई आवश्यकताअनुसार मर्ज गर्ने नक्सांकन गर्ने, गुणस्तरीय शिक्षाका हिसाबमा प्रतिस्पर्धी बनाउने, योग्य व्यक्तिलाई शिक्षक बनाउने, परीक्षा मर्यादित बनाउने, विद्यार्थीको अभिलेख राख्ने, विद्यालयमा हुने राजनीतिको अन्त्य गर्ने, शिक्षक–अभिभावक–विद्यार्थीको सम्बन्ध समधुर राख्ने, शिक्षकलाई पठनसीप दिने, कम्प्युटर शिक्षामा जोड दिनेजस्ता विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष धितालले जानकारी दिए ।
त्यस्तै सिंजाका ६ वटै वडामा सडक पुगिसकेकाले स्तरवृद्धिमा जोड दिनुका साथै बढ्दो अवैध, नदी उत्खनन रोकिनेछ भने लोपोन्मुख असला माछा संरक्षणका लागि माछाका भुरा छोड्ने समेत योजना सिंजा गाउँपालिकाको छ । मानवअनुकूल पर्यावरण निर्माणसँगै जुम्ली खस भाषा–साहित्य र सिंजा सभ्यताको संरक्षण तथा खस भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्न नीतिगत रूपमै अघि बढ्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ ।
सिंजालाई नेपालको अध्ययन, अनुसन्धान तथा अवलोकनको प्रमुख गन्तव्य बनाउन निकट भविष्यमै खस सम्मेलन गरिनेछ । विश्वका खसहरूलाई सिंजामा निम्त्याइनेछ भने खस भाषा सभ्यता संरक्षणका लागि पुराना चलन, वेशभूषालाई संरक्षण गर्ने र सिंजा सभ्यताका विभिन्न कुरालाई अभिलेखीकरण गर्ने योजना सिंजाले तयार गरेको छ ।
स्थानीय सरकारप्रति नागरिकका अधिकतम अपेक्षा रहेकाले सीमित स्रोतबाट माग परिपूर्ति गर्न चुनौती रहे पनि स्रोत पहिचान र परिचालनमा जोड दिन सिंजालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन, सुशासन, सेवा प्रवाहमा अब्बल पालिका बनाइनेछ ।
सहकारीबाटै गरिबी निवारण गर्ने, वित्तीय पहुँच विस्तार गर्ने, नागरिकलाई सक्षम बनाउनेतर्फ समेत सिंजा सरकार केन्द्रित रहनेछ । यद्यपि सिंजामा पहिलो पाँचवर्षे कार्यकालमा विभिन्न सडक ग्राभेल भइसकेका छन् ।
त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले घरमा हुने सुत्केरी दर शून्यमा झार्ने पहिलो निर्णय गरेका छन् । पूर्वाधार विकास र सेवा प्रवाहमा मोडल पालिका बनाउने, सिंजामा मातृशिशु मृत्युदर शून्यमा झार्न संस्थागत सुत्केरीलाई जोड दिइने, गाउँगाउँमा सिंहदरबार भन्ने अवधारणालाई पूर्णता दिनका लागि नागरिकले स्थानीय सरकारको महसुस हुने गरी काम गर्ने, पालिकामा बर्थिङ सेन्टर स्थापनादेखि स्वास्थ्य परामर्श दिने, सिंजा सभ्यताको संरक्षण, कृषि पर्यटनमा अनुदान तथा स्वास्थ्य शिक्षामा विशेष छुटको व्यवस्था मिलाइनेछ । पाँच वर्षभित्र कक्षा १ देखि ५ सम्मको आधारभूत विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धिस्तर ६० प्रतिशत पुर्‍याइने समेत सिंजाको लक्ष्य छ ।
सिंजाको ऐतिहासिक विरासत कायम राख्नका लागि गाउँपालिकाले संघ, प्रदेश सरकारको समन्वयमा पर्यटकीय पूर्वाधार निर्माणलाई समेत जोड दिएको छ । सिंजा सभ्यताको अध्ययन अनुसन्धान तथा पर्यटक भिœयाई आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यले खस संग्रहालय निर्माण थालिएको छ ।
सिंजामा धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीय सम्भावना प्रचुर रहेका छन् । धार्मिक रूपमा बुँदबुँदी केदारनाथ तीर्थस्थल, मठमन्दिरको रूपमा देउलीमा, ऐतिहासिक पञ्चदेवललगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएको छ ।
“विगतमा भौगोलिक विकटता र नागरिकका आवश्यकता मध्यनजर गरी पालिकाका ६ वटै वडामा सडक पुर्‍याइएको छ भने कृषि व्यवसायमा अनुदान, पर्यटकीय पूर्वाधार विकास, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा उल्लेखीय काम भएका छन्,” उनले भने ।
साथै चालू आवमा पक्की पुल निर्माणमा जोड दिइनेछ । सिंजा गाउँपालिका विकट बस्तीलाई निकटसँग जोड्न, गाउँको उत्पादनलाई बजारमा पुर्‍याउन, पर्यटन प्रवद्र्धन गर्न, स्वास्थ्य शिक्षा सहज सुलभ गर्न, प्रशासनिक सेवा प्रभावकारी बनाउन गाउँगाउँमा सडक पुर्‍याउन सिंजाले सुरुवाती वर्षदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिएको र अब पनि निरन्तरता दिइने छ । कृषि, पर्यटन र जडीबुटी क्षेत्रमा भएका अथाह सम्भावनालाई अवसरमा बदल्न हिमाले सुरुवातदेखि नै पूर्वाधार विकासमा जोड दिँदै आएको छ ।
न्यायिक सम्पादन, महिला सशक्तीकरण, महिलाको आयआर्जनका कुरालाई समेत सिंजाले जोड दिने उपाध्यक्ष सितली रोकायाले बताइन् । संस्थागत सुत्केरी वृद्धिमा, महिलाका नाममा सम्पत्ति, हिंसामुक्त समाज निर्माणमा समेत आफ्ना ध्यान केन्द्रित हुने उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले संघीयताको जग बसाल्न पहिलो कार्यकालका जनप्रतिनिधिको महŒवपूर्ण भूमिका रहे पनि अधुरा कामका पूरा गर्न केही नवीनतम काम गर्न नयाँ प्रतिनिधि जोसिला देखिएको बताए । उनका अनुसार सिंजाले गाउँपालिकाले चालू आवमा शिक्षा, कृषि, पर्यटन, खस सभ्यतालाई संरक्षण दिँदै ३४ करोड २६ लाख २३ हजारको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्