सुपर दोर्दी ‘ख’ ८८ प्रतिशत निर्माण सम्पन्न «

सुपर दोर्दी ‘ख’ ८८ प्रतिशत निर्माण सम्पन्न

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको निर्माणकार्य ८८ प्रतिशत पूरा भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको बाँध, विद्युतगृह, सुरङमार्ग सबै क्षेत्रको काम एक साथ अघि बढेको कम्पनीले जनाएको हो ।
गत वर्षको असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएर क्षतिग्रस्त सो आयोजनाको बाँध क्षेत्रको पुनर्निर्माणको काम भइरहेको आयोजना साइट इन्चार्ज रमेश सिग्देलले बताए । बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पुहँचमार्ग बगाएपछि रोकिएको काम तीव्र गतिमा अघि बढेको सिग्देलको भनाइ छ ।
आयोजनामा हालसम्म पाँच हजार एक सय मिटर सुरुङ खन्ने र एक हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम पूरा भएको छ । हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण गरिरहेको विद्युतगृहको ८५ प्रतिशत काम पूरा भएको छ भने इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम ७० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

आयोजनाको सबै काम पूरा गरेर २०७९ माघभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाबाट यसअघि २०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गतवर्षको १ असारको राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्‍याउँदा तालिका प्रभावित भएको हो ।
आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपूर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारणलाइन पनि कम्पनी आफैले निर्माण गरिरहेको जनाएको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछ । प्रसारण लाइनको काम पनि ६५ प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ ।
आयोजनाबाट २०७६ फागुनदेखि विद्युत उत्पादन र्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीको असरले निर्माण प्रभावित हुँदा धकेलिँदै गएको हो । अघिल्लो वर्ष कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेकोे लकडाउन र निशेधाज्ञाका कारण निर्माण सामाग्री आयात गर्न नसक्दा तथा कामदार अभावले आयोजनाको निर्माण लामो समय सुस्त बनेको थियो । अवस्था सहज हुँदै गएपछि मात्रै फेरि निर्माणलाई गतिदिन सकेको कम्पनीले जनाएको छ ।
आयोजना सम्पन्न गर्न आठ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ । विद्युत उत्पादन अवधि लम्बिँदा तथा विदेशी विनिमय दरमा भएको वृद्धिले लागत बढ्ने देखिएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौवटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । दुई अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी छ । आयोजनामा लमजुङबासीको २७ करोड रुपैयाँ लगानी छ । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्