हिमाल चढ्नुको रहस्य «

हिमाल चढ्नुको रहस्य

हिमाल किन चढिन्छ ? हिमाल चढ्नुको के रहस्य छ ? किन सात समुद्रपारिका मानिसहरू लाखौं/करोडौं रुपैयाँ (हजारौं/लाखौं अमेरिकी डलर) खर्च गरेर हिमाल चढ्छन् ? किन विदेशीहरू हिमालय क्षेत्रमा घुम्न आउँछन् ? प्रश्न अरू पनि धेरै गर्न सकिन्छ ।
यस विषयमा नेपालका नामुद भूगोलविद, पर्वतारोही, योजनाविद्, प्रशासक, चित्रकार, लेखक, खेलाडी, खोजकर्ता, अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भन्नुभएको छ, ‘पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ— मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्र्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो । पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किरात महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र… ।’ (स्रोत : डा. हर्क गुरुङ, ‘विषय विविध’)
हुन पनि हो, प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आइरहेका छन् । नेपालमा रहेका हिमाल आरोहण गर्नका लागि नेपाली पर्वतारोहीभन्दा लगभग ९९ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । केही नेपाली पर्वतारोहीहरूले पनि पेसेवर ढंगले हिमाल आरोहण गर्न सुरु गरेका छन् । तर, अभैm पनि अधिकांश नेपाली पर्वतारोही विदेशी पर्वतारोहीका सहयोगीका रूपमा नै हिमाल आरोहण गरिरहेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेसेवर पर्वतारोही’ हुन्, अभैm धेरै समय लाग्ने देखिन्छ ।
अर्को भनेको स्वदेशी पर्वतारोहीहरूभन्दा विदेशी पर्वतारोहीहरूले नेपालका हिमाल चढ्न आउने क्रममा नेपाल सरकारलाई ठूलो पैमानामा सलामी दस्तुर अथवा भनौं ‘रोयल्टी’ तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो हिमचुचुरो चोमोलुङ्मा अर्थात् सगरमाथा/एभरेस्ट आरोहण गर्नका लागि विदेशी पर्वतारोहीले एक व्यक्ति बराबर ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ, तर नेपाली पर्वतारोहीले एक व्यक्तिबराबर ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ । गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैँया मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ ।
हाम्रो देश नेपालमा हिमरेखाभन्दा माथिका हिमाल १७ सयभन्दा बढी छन् तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ । अथवा भनौं ती हिमाललाई कानुनी रूपमा मान्यता दिएर कुनै पनि देशका पर्वतारोहीबाट निश्चित रकम बराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ । हालसम्म ४ सय १४ वटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि खुला गरेको भए पनि विश्वकै अग्लो हिमचुचुरो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटांै अग्लो चो–ओयु, सातौं अग्लो धौलागिरि, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथमजस्ता ठूला हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण रहेको देखिन्छ । त्यस्तै ७ हजार मिटर र त्योभन्दा कम उचाइ भए तापनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनिको चुली, धाम्पुस (थापा) पिक, नीलगिरि, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरैजसो विदेशी पर्वतारोही नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ वटा स–साना हिमाल ‘ट्रेकिङ पिक’ भनी सरकारले अलग्गै खुला गरेको छ । ती ट्रेकिङ पिकको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्