भक्तपुरमा बिहीबार नै मनाइयो जनैपूर्णिमा «

भक्तपुरमा बिहीबार नै मनाइयो जनैपूर्णिमा

भक्तपुरमा बिहीबार गन्हुँपुन्ही अर्थात् जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकोले अन्योलता उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ, सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुरोहित, राजोपाध्याय एवं पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ ।
सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो । बिहीबार जनैपूर्णिमा मनाइएको छ भने शुक्रबार गाईजात्रा मनाउने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्