एमालेमा निर्वाचन परिचालन र घोषणापत्र समिति गठन «

एमालेमा निर्वाचन परिचालन र घोषणापत्र समिति गठन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।
समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको बताए । उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषद्को पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रिय विभागका सचिवहरु रहने गरेर केन्द्रिय निर्वाचन परिचालन कमिटी पनि गठन भएको बताए ।
प्रमुख गुरुङले विभिन्न १५ विभागका सचिवहरु पनि मनोनयन गरेको बताए । विभागका सचिवमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्डयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद् व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलियालाई मनोनयन गरेको छ ।
त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, भूमि व्यवस्था विभाग गरी तीन विभागको गठन गरेको छ । बैठकले स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको, पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित गर्नुका साथै वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रश्तावित आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट पनि पारित गरेको छ ।
विभाग प्रमुख गुरुङले पार्टी प्रवेशीहरुको सन्दर्भमा आवश्यक्ता अनुसार तल्लो कमिटीहरुले गरेको सिफारिसको आधारमा केन्द्रिय कमिटीले आवश्यक निर्णय लिने निर्णय भएको पनि बताए । बैठकले केही केन्द्रिय सदस्यको जम्मेवारी हेरफेर गरेको छ । जसमा मधेस प्रदेशको सहइन्चार्जमा रामदल मण्डल तोकिएका छन् भने महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सह इन्चार्ज तोकिएको छ । त्यस्तै भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की जिल्लाको इन्चार्जमा कृष्ण थापालाई तोकिएको छ ।
प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषद्को सदस्यमामा मनोनयन गरेको छ भने जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गरेको छ ।
नेकपा एमालेले आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटीको बैठक, भदौ ९ गते पार्टीको पोलिटब्यूरोको बैठक र भदौ १० र ११ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्