१ लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव «

१ लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मंसिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्र रूपमा तयारी गरिरहेको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमसमेत स्वीकृत भइसकेको छ ।
भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले पनि आफ्नो तयारी तीव्र पारेको छ । उक्त निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर गृह मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । यो संख्या गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचको भन्दा २० हजारले बढी हो । त्यसबेला एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।
एक उच्च प्रहरी अधिकृतका अनुसार समानुपातिक निर्वाचनसमेत हुने भएकाले यसपटक साविक संख्यामा थप २० हजार म्यादी प्रहरी थप गर्ने गरी प्रस्ताव गरिएको हो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने संख्या यकीन हुन भने बाँकी रहेको बताए । “नेपाल प्रहरी निर्वाचनतर्फ केन्द्रित भइसक्यो । निर्वाचन सम्पन्न गर्न चाहिने म्यादी प्रहरीको भर्ना, उनीहरुको संख्या, खर्च, नेपाल प्रहरी परिचालनमा लाग्ने खर्चलगायत प्रारम्भिक चरणको खाकासहित आवश्यक तयारीका सन्दर्भमा गृह मन्त्रालयमा प्रस्ताव पेश गरिसकेका छौं,” उनले भने ।
उनका अनुसार मतदानस्थल परिवर्तन नभए पनि पहिलेभन्दा अहिले मतपेटिका दुई ठाउँमा रहने भएकाले पनि जनशक्ति थप आवश्यक हुन्छ र स्थानीय निर्वाचनभन्दा म्यादी प्रहरीको संख्या बढ्छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुन: अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने उनको आकलन छ । त्यसका साथमा अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण एवं अपराधमा समेत प्रहरीको ध्यान केन्द्रित रहेको उनले बताए ।
यसअघि ४० दिनका लागि भर्ना भएको र अहिले पनि सोही अवधिका लागि म्यादी प्रहरी भर्ना गरिने जनाइएको छ । यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै प्राथमिकता दिने पनि उनले जानकारी दिए । निर्वाचनको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । सेलले आफ्नो तयारी गरिरहेको थापाले जानकारी दिए । जिल्ला जिल्लामा समेत सोहीअनुसारको संयन्त्र निर्माण गर्नेगरी तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्