काम गर्ने वातावरण मिलाउन उद्योगीको आग्रह «

काम गर्ने वातावरण मिलाउन उद्योगीको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा अध्यक्ष गोल्छाले निजी क्षेत्र सरकारसँग जोडिएकाले दुवै पक्ष मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए । उनले उद्योगीले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध गर्न नहुने बताए । उनले रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजस्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग आग्रह गरे । उनले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गर्न माग गरे ।
“हामी लगानी गर्छौं प्रक्रिया सहज बनाइदिनुहोस्, हामी उत्पादन गर्छौं अवरोध नगरिदिनुहोस्, हामी रोजगारी दिन्छौँ सहजीकरण गरिदिनुहोस्, हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस्” उनले भने, “हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस्, हामी राजस्व बुझाउँछौं अपमान नगरिदिनुहोस् ।”
समस्या समाधानका लागि स्थायी संयन्त्र बन्ने भन्दै अध्यक्ष गोल्छाले पुँजीको लागत बढीरहेकोले उद्योगको बाटो सहज नभएको बताए ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताए ।
उनले सरकार निजी क्षेत्रसँग साझेदारीमा र पूर्ण विश्वासका साथ काम गर्न चाहेको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा नै अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न चाहेको बताए । मन्त्री बडूले सरकारले आफ्नो सीमाभित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताए । उनले मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्ने पनि बताए । उनले अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्णरुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताए ।
मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । उनले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै निजी क्षेत्रले पनि देश विकासका लागि सरकारसँग मिलेर काम गर्न तयार हुनुपर्ने बताए । मन्त्री बडूले विश्वासका साथ सहकार्य गर्न र अघि बढ्नु अहिलेको आवश्यक्ता भएको बताए ।
मन्त्री बडूले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढीरहेको बताए । उनले निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुन: सञ्चालन गर्ने काममा प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्