इण्डियन इन्टरनेसनल ज्वेलरी शो उपलब्धिमूलक «

इण्डियन इन्टरनेसनल ज्वेलरी शो उपलब्धिमूलक

भारतको मुम्बइमा भएको इण्डियन इन्टरनेसनल ज्वेलरी शो (आइआइजेएस) सुनचाँदी व्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि उपलब्धिमूलक भएको नेपाली व्यवसायीले बताएका छन् ।
१९ देखि २३ साउनसम्म मुम्वइमा भएको मेलामा नेपाल र भारतका सुनचाँदी व्यवसायीबीच व्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका विषयमा परामर्श भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपालका तर्फबाट गएको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसायमा भित्रिएको आधुनिक प्रविधि र दुई देशबीच त्यसको हस्तान्तरण तथा साटफेर गर्न मद्दत पुगेको बताए ।
मेलाका अवसरमा भारतको जेम्स एण्ड ज्वलरी काउन्सिलका अध्यक्ष कोलिन शाह, कार्यकारी निर्देशक विक्रान्त प्रधान, अन्तर्राष्ट्रिय विभाग हेर्ने निर्देशक श्रीधर इंगार, पोलिसी लविङ डाइरेक्टर सुरुची खिन्द्रियालगायतसँग दुई पक्षीय परामर्श भएको थियो । यस्तै सो अवसरमा इण्डियन इन्स्टिच्युट अफ जेम्स एण्ड ज्वेलरीका प्रिन्सिपल भरत भास्वानीलगायतका व्यक्तिसँग पनि महासंघको प्रतिनिधिमण्डलले छफफल गरेको थियो ।
मेलाका अवसरमा दुई देशका व्यवसायीबीच आपसी सम्बन्ध विस्तार, गरगहनाको क्षेत्रमा विकास भएका नविनतम प्रविधिको साटासाट तथा आगामी दिनमा दुई पक्षबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्