पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित

लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको हो । सरकारले व्यावसायिक पशुपंक्षी पाल्दै आएका कृषकलाई पशु बिमा प्रिमियममा २५ प्रतिशत छुटसहितको राहात प्याकेज ल्याएपछि कृषक लाभान्वित भएका हुन् ।
पशु सेवा कार्यालयका अनुसार पशुपन्क्षी बिमाको प्रिमियममा २५ प्रतिशत अनुदान विशेष कार्यक्रमका लागि ३२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सोमध्ये ३१ लाख ३२ हजार रुपैयाँ बिमा शुल्क भुक्तानी भएको कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठले बताए । बिमा रकमको ७५ प्रतिशत रकम संघ सरकारले उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले बाँकी २५ प्रतिशत रकम तिरेपछि कृषकले निशुल्क पशुपन्क्षीको बिमा गर्दै आएका छन् ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ५६ हजार दुई सय माछा, २० हजार एक सय ८१ कुखुरा, ६ हजार ४५ बाख्रा, दुई हजार ३५ भैंसी, तीन सय ३७ बंगुर, दुई सय ९७ गाई, र दुई सय ५९ भेडाको बिमा भुक्तानी भएको हो । सबै पशुपन्क्षीका लागि ५९ करोड ९८ लाख ६० हजार बिमित मूल्य रहेकोमा प्रदेश सरकारबाट एक करोड ५६ लाख ५५ हजार रुपैयाँ प्रिमियम शुल्क भुक्तानी भएको छ ।
बिमा गरीएकामध्ये माग बमोजिम कुल प्रिमियम शुल्कको २५ प्रतिशतका दरले ३१ लाख ३२ हजार रुपैयाँ प्रदेश सरकारद्वारा सञ्चालित पशु बिमा अनुदानबाट भुक्तानी भएको हो । केही कृषकले भने बिमा गरेपनि रकम दावी नगरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार केही कृषकले अनुदान रकम पाउने लोभमा फर्जी बिमाको कागजपत्रसमेत पेश गरेका थिए । फर्जी बिमाको बारेमा जानकारी आएसँगै सम्बन्धीत कृषकको स्थलगत अनुगमन गरी रकम भुक्तानी नगरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
प्रदेश सरकारले व्यावसायीक रुपमा गाई भंैसी, बाख्रा, कुखुरा, भेडा, बंगुर पालन गर्दै आएका कृषकलाई थप प्रवद्र्धनका लागि बिमा अनुदान कार्यक्रम ल्याएको थियो । बिमा शुल्कमा विशेष अनुदानसमेत भएपछि पछिल्लो वर्ष पशुपन्क्षीको बिमा गराउने कृषकको संख्या पनि थपिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।