कारोबार १५ दिनमात्रै रोक्का «

कारोबार १५ दिनमात्रै रोक्का

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्ने प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका २०७९ को मस्यौदा तयार गर्दै सूचीकृत कम्पनीको मर्जर सम्झौता भएपछि मात्रै अधिकतम १५ दिनमात्रै सेयर कारोबार रोक्का हुने व्यवस्था गर्न लागेको हो ।
मस्यौदा निर्देशिकाका अनुसार एकीकृत व्यावसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नु पर्नेछ । तर, प्रारम्भिक समझदारी भएपश्चात् धितोपत्र बजारले गाभ्ने/गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत सेयरधनीको कारोबार मर्जर सम्झौता भएपछि भने रोक्का हुने पनि मस्यौदामा उल्लेख छ ।
बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानुनबमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सोको जानकारीसहित एकीकृत व्यावसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्ने भन्दै मस्यौदाले मर्जरपछि प्राप्ति गर्ने कम्पनीको नाम परिवर्तन नभएमा सेयर कारोबार रोक्का नहुने व्यवस्था पनि गरेको छ ।
यसका साथै धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकीकृत कारोबार सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले मस्यौदामा सुझाव दिन विज्ञ तथा सेयर लगानीकर्ताहरुलाई सात दिन समय तोकेको छ । मस्यौदा लगानीकर्ताको सल्लाह सुझावपछि मात्र अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउने बोर्डको तयारी रहेको छ ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले गत १२ साउनमा बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्कासम्बन्धी निर्देशिका दुई साताभित्र लागू गर्ने बताएका थिए । तर, भनेको समयमा भने बोर्डले निर्देशिका ल्याउन सकेन ।
यसका साथै मस्यौदामा मर्जर तथा एक्विजिसनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने–गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने पनि उल्लेख छ । कुनै पनि सूचना सार्वजनिक नगर्ने सम्बन्धमा संगठित संस्थाका सञ्चालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिवद्धता पेश गर्नुपर्ने समेत बोर्डले जनाएको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कारोबार रोक्का सम्बन्धमा राष्ट्र बैंकले गरेको नीति खारेज गर्दै त्यसको सम्पूर्ण अधिकार धितोपत्र बोर्डलाई दिएको थियो । राष्ट्र बैंकले उक्त व्यवस्था परिवर्तन गरेसँगै बोर्डले सेयर कारोबार रोक्का सम्बन्धी मस्यौदा बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्